Shittalpati
ब्याजदर वृद्धिले पलायन हुने अवस्था आएको भन्दै उद्योगी, व्यवसायी विरोधमा

रामचन्द्र रायमाझी/अनिल खत्री
पाल्पा, देशभरका उद्योगी, व्यवसायीहरु व्याजदर वृद्धिको विरोधमा उत्रिएका छन् । राष्ट्र बैंकले ब्याजदर अस्वाभाविक रूपमा वृद्धि गरेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण आफूहरु मारमा परेको भन्दै उद्योगी, व्यवसायी बैंक तथा वित्तीय संस्थाप्रति रुष्ट देखिएका छन् । उनीहरुले अहिले ब्याजदर घटाउनका लागि सरकार र राष्ट्र बैंकसमक्ष आग्रह गर्दै आएका छन् । तर, सरकारले कुरा नसुनेको भन्दै व्यवसायी निराश छन् । राष्ट्र बैंकले कर्जाको दुरुपयोग रोक्न केही समयअघि चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन ल्याएको थियो । उक्त मार्गदर्शनप्रति उद्योगीले असन्तुष्टि जनाउँदै आएका हुन् ।

कोभिड–१९ ले थाला परेको व्यवसाय केही तंग्रिने अवस्थामा रहेको बेला विभिन्न वाहानामा सबैतिरबाट व्यवसायीलाई नै मर्का पर्ने आर्थिक नीति ल्याइएका कारण ज्यादै जटिल परिस्थितीसँग व्यवसायी जुध्नुपरेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बताए । उनले भने,‘व्यवसाय छाड्नुपर्ने अवस्था सिर्जना हुँदा समेत सरकारले वेवास्ता गरेको छ ।’ सरकारले नै व्यवसायीको विषयमा ध्यान नदिएको कारण हामी व्यवसाय बन्द गर्ने वा अन्दोलनमा जाने दुवै बाध्यताको बीचमा उभिएको अध्यक्ष महर्जनको भनाई छ । उनले सरकारी अदुरदर्शी नीति र राष्ट्र बैंकले ल्याउने झन्झटिलो नयाँ प्रावधानले व्यवसायिक क्षेत्र आक्रान्त बन्दै गएको बताए । उनले बैंकहरुले व्याजदर बढाएर व्यवसायीहरूलाई सडकमा ल्याउने काम गरेको भन्दै अब व्यवसाय बन्द गरेर तालाचावी बैंकलाई बुझाउनुपर्ने अवस्था आएको बताए । उता गुल्मीका उद्योगी व्यवसायीहरुले पनि अस्वभाविक ब्याजदर वृद्धि गरिएको भन्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएका छन् ।

बैंकहरुले मनलाग्दी ब्याज बढाएको र उद्योगी व्यवसायीहरु पलायन हुने बाध्यात्मक अवस्था आउन लागेको भन्दै गुल्मी उद्योग वाणिज्य संघले नेपाल राष्ट्र बैंकलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको संघका उपाध्यक्ष ताराप्रसाद भुसालले बताए । ज्ञापनपत्रमा कोभिङ १९ महामारी पछिको वर्तमान देशको अर्थतन्त्रमा देखा परेका आर्थिक संकट तथा नेपाल राष्ट्र बैंकबाट जारी चालु पूँजी निर्देशिका २०७९ को कारण देशभरका उद्योगी व्यवसायी तथा नीजि क्षेत्र धरासायी हुने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ । ‘बैंक तथा वित्तिय संस्थाहरुले कर्जा प्रवाहमा व्यवसायीहरुले धान्नै नसक्ने गरी व्याजदर वृद्धि तथा अर्थवन्त्रमा नकारात्मक असर पर्ने खालका गतिविधि गरेका कारण उद्योग, कल, कारखाना तथा व्यापार व्यवसायहरु धमाधम बन्द हुँदै गहिरहेको अवस्था छ ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई त्यस प्रकारका गतिविधिहरु सच्चाई उद्योग व्यवसायीमैत्री नीति निर्माण गर्नका लागि संघ जोडदार माग गर्दछ’ ज्ञापनपत्रमा उल्लेख छ । स्थानीय स्तरमा सञ्चालित बैंक तथा वित्तिय संस्थाहरुलाई समेत वर्तमान संकटको यो अवस्थामा व्यवसायीहरुमाथि आतंक सिर्जना गर्ने कार्य समेत तत्काल बन्द गर्न संघले जोडदार माग गरेको छ । बैंकले पछिल्लो समय कर्जामा १८ प्रतिशतसम्म ब्याज लिन थालेपछि व्यवसायी आन्दोलित भएका हुन् । बढ्दो ब्याजदरले धान्न गाह्रो भएको उद्योगीहरू बताउँछन् । घरजग्गा कारोबार बन्द हुँदा पनि उद्योगी, व्यवसायीलाई थप सकस भएको छ । तर, राष्ट्र बैंकले तत्काल ब्याजदर नघट्ने संकेत गरेको छ । आन्दोलन गर्दैमा ब्याजदर नघट्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । विदेशी विनिमय सञ्चिति र तरलतामा सुधार नहुँदासम्म ब्याजदर नघट्ने राष्ट्र बैंकको अडान छ । जथाभावी ऋण प्रवाह हुँदा आयातमै जाने भन्दै राष्ट्र बैंकले केही वस्तु आयात प्रतिबन्ध लगाउनुका साथै कर्जा प्रवाहमा कडाइ गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update