कृष्ण पोखरेल
पाल्पा, आसन्न मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पाल्पामा तीव्र पारिएको छ । यहाँका राजनीतिक दलदेखि निर्वाचन कार्यालय, जिल्ला प्रशासन लगायतका कार्यालयहरुले निर्वाचनका लागि आवश्यक कामको तयारी तीव्र पारेका छन् । जिल्लाका राजनीतिक दल तथा उम्मेदवारहरुले निर्वाचन प्रचार–प्रसारको पहिलो चरणको घरदैलोको कार्यक्रम सक्काएर दोस्रो चरणाको आमसभा, नारा जुलस जस्ता प्रचार अभियानमा जुटेका छन् ।
अर्काे तर्फ निर्वाचन गराउने मुख्य जिम्मेवारी पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालयहरु निर्वाचन सामग्री मिलाउने, मतदाता संख्या अनुसार मतपत्र मिलाउने, रुजु गर्ने, विग्रेको मतपत्र हटाउने, मतदानस्थलमा पठाएका मतपत्रको रेकर्ड राख्ने, सिलबन्दी गर्ने, प्याकिङ गर्ने काममा व्यस्त देखिएका छन् । यस पटकको निर्वाचनमा एउटा मतदाताले प्रतिनिधिसभा र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ४ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले क्षेत्र नंं २ को ६६ वटा मतदानस्थलका, १ सय ३१ वटा मतदान केन्द्रका १ लाख ५ हजार २ सय ९३ मतदाताहरुको लागि समानुपातिक र प्रत्यक्षतर्फको मतपत्र रुजु गरी प्याकिङको काम सकिएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले बताए । पाल्पा क्षेत्र नंं. २ प्रतिनिधिसभाको समानुपातिक तर्फ १ लाख १६ हजार, प्रदेश सभातर्फ २ को १ मा ६४ हजार र २ को २ मा ५६ हजार, प्रत्यक्षतर्फ १ लाख १६ हजार, प्रदेश सभातर्फ २ को १ मा ६२ हजार र २ को २ मा ५५ हजार, अस्थायी मतदाताहरुका लागि ९ हजार मतपत्र प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पाल्पामा २ वटा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । यस अघि सम्पन्न भएका सबै निर्वाचनको व्यवस्थापन सदरमुकाम तानसेनबाट हुँदै आएकोमा निवाचन आयोगले यस पटक क्षेत्र नं. १ को कार्यालय रामपुरमा सञ्चालनमा गरेको छ । कर्मचारी, सुरक्षाकर्मी परिचालन, खटन, पटन मतपत्र रुजु, प्याकिङ, क्षेत्र नंं. १ को निर्वाचन कार्यालयले गरेको छ । पाल्पा निर्वाचन क्षेत्र नं. १ को कार्यालय रामपुरमा पनि समानुपातिक र प्रत्यक्ष तर्फका मतपत्र सहितका सरसमानहरु पुगेका छन् । पाल्पा क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालय रामपुरले ५२ मतदानस्थलको १ सय १५ मतदान केन्द्रका ९६ हजार ३३ जना मतदाताहरुको लागि मतपत्र रुजु गरी मिलाउने, प्याकिङको काम सकिएको निर्वाचन अधिकृत गोपाल प्रसाद ढकालले बताए ।
पाल्पा क्षेत्र नं. १ मा प्रतिनिधिसभाको समानुपातिकतर्फ १ लाख ६ हजार, प्रदेश सभा १ को १ मा ५६ हजार, प्रदेश सभा १ को २ मा ५३ हजार, प्रत्यक्षतर्फ प्रतिनिधिसभातर्फ १ लाख ६ हजार, प्रदेश सभा १ को १ मा ५५ हजार, प्रदेश सभा १ को २ मा ५२ हजार मतपत्र प्राप्त भएको क्षेत्र नंं. १ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा मंसिर ४ गतेको आम निर्वाचनका लागि २ लाख १ हजार ३ सय २६ जना मतदाता रहेका छन् । जसमा १ लाख ३ हजार १ सय १८ जना महिला र ९८ हजार २ सय ८ जना पुरुष मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन सुरक्षाका लागि भर्ना भएका म्यादी प्रहरीहरु पनि तालिम पछि गाउँ–गाउँमा पुगेका छन् ।