सन्तोष महतारा
रेसुङ्गा, गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर ७० वर्ष पुगे । उनी आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा मतदान गर्दै छन् । उनी आफैले मतदान गरेर अहिलेसम्म ६ सांसद चुनिए । तर आफ्नो गाउँमा मोटर गुडेको देख्ने उनको चाहना कहिल्यै पूरा हुन सकेन । जिल्ला सदरमुकामभन्दा पालिकाको केन्द्रमा जान बढी समय लाग्ने गरेको घर्तीमगरले गुनासो गरे । ‘जिल्ला सदरमुकाम जान बागलुङ गएर चार घण्टामा पुग्न सकिन्छ,’ उनले भने, ‘पालिकाको केन्द्रमा जान सडक छैन, हिँड्दै जाँदा ६ घण्टा लाग्छ ।’ वडादेखि केन्द्र तहका नेताले पटक–पटक सडक निर्माण गर्ने आश्वासन दिए पनि कहिल्यै पूरा नभएको घर्तीमगरले बताए । लिलिङका अर्का स्थानीय ३७ वर्षीय यमबहादुर बलामीले पनि गाउँमा सडक नहुँदा नेताहरूप्रतिको विश्वास घट्दै गएको बताए । उनले पनि २०५६ देखि गत निर्वाचनसम्म चारपटक सांसद चुने । मङ्सिर ४ मा उनी पाँचौंपटक सांसद चुन्दै छन् । आफूहरूलाई निकै सास्ती हुँदा पनि नेताहरूले आश्वासन मात्र देखाएर मत माग्ने गरेको गुनासो उनको छ । गाउँमा लामो समयदेखि नेताहरूले पटक–पटक दिएको आश्वासनले दिक्क लागेको लिलिङका बलामीले बताए । ‘सडकको लोभ देखाएर मत मागेपछि विश्वास गर्दा धेरै सांसद बनेका छन्,’ उनले भने, ‘लामो समयदेखि सडक नहुँदा सास्ती भयो, अहिले ट्याक खुले पनि एकझर पानी परेपछि सडक बिग्रने गरेको छ ।’ लिलिङमा ४५ घरपरिवारमा तीन सय सदस्य छन् । उनीहरू यो समस्याबाट सधैं ग्रसित बनिरहेका छन् ।
गतवर्ष सडकको ट्याक खुले पनि अहिलेको वर्षायामले सडक क्षतिग्रस्त बनाएको छ । बागलुङको भीमगिठेमा मध्यपहाडी राजमार्ग भए पनि यस क्षेत्रमा भने सडकको अवस्था नाजुक रहेको लिलिङका स्थानीयवासीको गुनासो छ । यस क्षेत्रमा विद्यालय पनि छैन । मनकामना प्राथमिक विद्यालयमा कक्षा १ र २ मा अध्ययन तथा अध्यापन भए पनि माथिल्लो तहमा २० जना विद्यार्थी बागलुङमा जाने गर्दछन् । यस क्षेत्रमा अहिलेसम्म केन्द्रीय विद्युत पुगेको छैन । त्यहाँका स्थानीवासीले प्रतिघर सात हजार नगद र एक सय १० दिन श्रमदान गरेर घरघरमा बिजुली बाले पनि समस्या आइरहन्छ । २०७३ मा सडकको ट्याक खोल्दा सोही वडाको देउरालीका ६१ वर्षीय भीमबहादुर विकको घर जोखिममा परेको थियो । उनको समस्या अहिले पनि उस्तै रहेको छ । घर जोखिममा परेपछि चुनावी कार्यक्रममा उनले यसबारे गुनासो राखे । तर आश्वासन धेरै आए पनि चुनावपछि कहिल्यै समस्या समाधान हुन नसकेको उनले बताए । आफूले अहिले सांसदका लागि छैटौं पटक मतदान गर्न लागेको उनले सुनाए । ‘मैले विभिन्न आश्वासनका कारण पटक–पटक मतदान गरेको थिएँ,’ उनले भने, ‘आश्वासन कहिल्यै पूरा नभएकाले यस पटक भने मतदान गर्न उत्साह नै छैन ।’
मतका लागि जथाभावी सडक मालिका गाउँपालिका–२ दर्लिङका स्थानीय चूडामणि अर्यालले मतका लागि जथाभावी सडक निर्माण गरिएको बताए । एक मतका लागि पनि लामो दूरीमा सडक लैजाँदा बाढीपहिरोको जोखिम रहेको उनले बताए । ‘गाउँको मुख्य सडक बनाउने आश्वासन २० वर्षदेखि सुन्दै आएका छौं,’ उनले भने, ‘सडकको अवस्था कहिल्यै सुने, टोलटोलमा खोलिएका सडकले बाढीपहिरोको जोखिम बढायो ।’ गाउँको मुख्य सडक ग्राभेल बनाउने आश्वासनमा पाँचौं पटकसम्म मत दिए पनि पूरा नभएको उनले बताए । सडकका लागि मुख्य समस्या रहेको लिलिङको उदाहरण दिँदै अर्यालले चाहिँदो भन्दा नचाहिँदो काममा नेताले चासो दिने गरेको बताए । हिउँदमा डोजर लगाउने र बाटो बनाउने तर वर्षायाममा सधैं उस्तै हुने समस्या रहेको पनि उनको भनाइ छ । यस क्षेत्रमा २०४६ सालपछिका आम निर्वाचनहरूमा विभिन्न राजनीतिक दलका गरी ६ सांसद चुनिएका छन् । पहिलो पटक २०४८ सालमा नेपाली काँग्रेसका रुद्रमणि शर्मा भण्डारी, २०५१ सालमा नेकपा एमालेका टंक पोखरेल, २०५६ सालमा एमालेका गोकर्ण विष्ट, २०६४ सालमा नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर केसी, २०७० र २०७४ सालमा एमालेका गोकर्ण विष्ट सांसद चुनिए । अहिले यस क्षेत्रमा मुख्य गरेर सत्तारूढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्री र नेकपा एमालेका गोकर्ण विष्ट चुनावी मैदानमा छन् । –रासस