Shittalpati
पाल्पामा कृषि र वन क्षेत्रको बजेट १० करोड ८ लाख

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पामा कृषि र वनको क्षेत्रमा झण्डै १० करोड ८ लाख बजेट छुुट्याइएको छ । यहाँ कृषि र वन क्षेत्रमा काम गर्दै आएका सरकारी निकायहरुले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १० करोड ७ लाख ९६ हजार बराबरको बजेट छट्याएका हुन् । कृषि ज्ञान केन्द्र र डिभिजन वन कार्यालय पाल्पाले सोमबार एक औपचारिक कार्यक्रमका बिच आर्थिक वर्षका लागि छुट्याइएको कार्यक्रम तथा बजेट र गत वर्षको कार्यक्रमको प्रगति प्रस्तुुत गरेका छन् । कृषि ज्ञान केन्द्र पाल्पाले स्मार्ट कृषि गाउँ कार्यक्रमसँगै कृषि उत्पादनमा जोड दिदै ५ करोड ९६ लाख ८४ हजार बराबरको बजेट निर्माण गरेको छ । जसमा ५ करोड पुँजीगत र ५ करोड ९१ लाख ८४ हजार चालुतर्फ गरी उक्त बजेट छुट्याएको हो । संघीय सरकारमार्फत प्राप्त ४१ लाख र प्रदेश सरकारमार्फत प्राप्त ५ करोड ५५ लाख ८४ हजार बजेटमार्फत आर्थिक वर्षको बजेट तथा कार्यक्रम बनाइएको कार्यालय प्रमुख कामना अधिकारीले बताइन् । केन्द्रले कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम, स्मार्ट कृषि गाउँ कार्यक्रम, कृषि तथा पशुपंक्षी स्रोत तथा प्रविधि सेवा विस्तार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमका लागि बजेट ल्याएको हो ।

कृषि ज्ञान केन्द्रले अघिल्लो आर्थिक वर्ष ८ करोड १३ लाख ५९ हजारको बजेट ल्याएको थियो । उसले ८ वटा महत्वपूर्ण कार्यक्रम तय गरी बजेट ल्याएको थियो । जस अन्तर्गत कार्यालयले ४७ दशमलव ९७ प्रतिशत वित्तिय प्रगति गरेको छ । यस्तै डिभिजन वन कार्यालयले पनि आगामी आर्थिक वर्षका लागि ४ करोड ११ लाख १२ हजारको बजेट ल्याएको छ । उसले प्रदेश सरकारबाट प्राप्त २ करोड ८४ लाख ३७ हजार र संघीय सरकारबाट प्राप्त १ करोड २६ लाख ७५ हजार बजेटमार्फत उक्त बजेट छट्याएको हो । डिभिजन वन अधिकृत दीपक ज्ञवालीले विभिन्न ८ वटा कार्यक्रमका लागि बजेट ल्याइएको बताए । उनका अनुसार वनले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारमार्फत ४ र संघीय सरकार मार्फतका ४ वटा कार्यक्रम ल्याइएको छ । वनले प्रदेशतर्फ वन संरक्षण, व्यवस्थापन, वृक्षारोपण, जडीबुटी प्रवद्र्धन, कबुलियती र सामुुदायिक वनलाई विशेष जोड दिएको छ । संघीयतर्फ जडीबुटी, वातावरण संरक्षण, पर्यापर्यटन विकास जस्ता कार्यक्रमलाई जोड दिएको पाइन्छ । उसले एक वडा, एक पोखरी कार्यक्रम, वनसँग सेलिब्रेटी कार्यक्रम, पीडितसँग प्रदेश सरकार कार्यक्रममार्फत मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन, कृषकलाई निःशुल्क विरुवा, ढुवानी, मलखाँद र रोपण सहुलियत, तेजपात खेती विकास तथा प्रवद्र्धन जस्ता कार्यक्रमहरु पनि अगाडि सारेको छ ।

कार्यक्रममा स्थानीय सरकारका प्रमुखहरुले कृषि र वनले राम्रा कार्यक्रमहरु ल्याए पनि स्थानीय सरकारसँग समन्वय नगर्दा ति कार्यक्रमहरु प्रभावकारी बन्न नसकेको गुनासो गरेका छन् । रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराई, माथागढी गाउँपालिकाका अध्यक्ष यम चिदी, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी, रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण कार्की लगायतले स्थानीय सरकारसँग समन्वय गरेर कार्यक्रम गर्न सम्बन्धित कार्यालयहरुलाई आग्रह गरे । उनीहरुले स्थानीय सरकार र सेवा प्रवाह गर्ने कार्यालयसँग समन्वय भएको खण्डमा कृषिमा परनिर्भता रोकेर आत्मनिर्भरतातर्फ बढ्न सजिलो हुने र कार्यक्रम समेत प्रभावकारी बन्नेमा जोड दिए । उनीहरुले पाल्पामा बाँदर व्यवस्थापन निकै चुनौतिको विषय बनेकाले वन कार्यालयले प्रदेश र संघीय सरकारसँग समन्वय गरी अगाडि बढ्न सुुझाव दिए । उनीहरुले आवश्यक जनशक्ति चाहिएमा स्थानीय सरकारले समेत सहयोग र समन्वय गर्ने बताए । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको अध्यक्षता, कृषि ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत मिलन गैरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update