पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका–४, कोलडाँडामा रहेको धार्मिक पर्यटकीयस्थल सत्यवती तालमा लाग्ने अनौठो मेला मंगलदेखि सकिएको छ । गत शुक्रबारदेखि लागेको सत्यवती मेला सकिएको हो । मेलामा यस वर्ष श्रद्धालु भिड लागेको थियो । कोभिड र जोग नपर्दा विगतका तीन वर्ष मेला हुन नसकेकाले यस वर्ष श्रद्धालुहरुको भिड अत्याधिक बढेको वडा अध्यक्ष तुलबहादुर आलेले बताए । उनका अनुसार एक लाख भन्दा बढी श्रद्धालु मेला भरेका हुन् ।
यसअघि तीन दिन लाग्दै आएको मेला यसवर्ष भने जोग परेकाले पाँच दिन लगाइएको हो । कान कम सुन्ने बज्यै भएको र चिच्चाएर वर माग्दा पुग्ने जनविश्वास छ । त्यही जनविश्वासअनुसार नै श्रद्धालु मेला भर्न आएका थिए । पाल्पा जिल्लासहित छिमेकी जिल्लाहरूका विभिन्न स्थान र भारतको सुनौली, नौतुना, गोरखपुर लगायतका क्षेत्रबाट भक्तजन सत्यवती पुगेका थिए । दिउँसोमा भन्दा बढी भीड रातिमा लागेको थियो । सत्यवती ताल र माईको मन्दिरमा सबैले सुन्ने गरी चिच्याएर ‘वर’ मागिएको थियो । ताल र मन्दिरको वरपर तीन पटक घुमेर सार्वजनिक रूपमै चिच्चाएर ‘सत्यवती बज्यै’सँग वर माग्ने यहाँको पुरानो चलन हो । सत्यवती बज्यैदेवी कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर मागेका हुन् । यहाँ बाँसको लिगो लिएर आवाज निकाल्ने गरी चिच्याउदै वर माग्ने र सत्यवती मन्दिर परिसरको पोखरीमा लिङ्गो गाडेर पूजा गर्ने चलन छ ।
विगतमा प्रायः कार्तिक चर्तुदर्शीका दिन भक्तजन सत्यवती बज्यैको मन्दिरमा वास बस्ने, पूजा पाठ गर्ने, बिहान देवीसँग चिच्याएर वर मागी झिसमिसेमै बाटो लाग्ने चलन रहेको थियो । तर यो हिजो आज भने परिमार्जित भएको छ । यो बेलाको पूजा विशेष हुने भएकाले पनि मेलाको महत्व रहेको छ । यहाँ एक बज्यै उत्पत्ति भएको र ती बज्यैसँग एक युवाले वर माग्दा बज्यैले कसैलाई नसुनाए फल पाउने र सुनाए उसको मृत्यु हुने वचन दिएकोमा ती युवाले घर फर्किएलगत्तै सुनाउँदा उनको मृत्यु भएकाले कसैलाई नभन्ने र बज्यैलाई चिच्याएर वर माग्ने चलन बसेको स्थानीय बूढापाका बताउँछन् । परापुर्व कालमा सत्यवती बज्यैले कुभिण्डोको भाडामा पिउने पानी लिएर हिँडेको र सोही क्रममा यहाँ विश्राम गर्दा पोखिएर बनेको पोखरी पनि कुभिण्डो आकारकै बनेको किंवदन्ती छ । यस वर्ष धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सत्यवती मेलामा दर्शन गर्न र भाकलअनुसार पूजा गर्न आउनेहरुको निकै घुइँचो लागेको थियो ।