Shittalpati
तिनाउमा भएका खनिजको उचित व्यवस्थापन गर्छौ : गठबन्धनको उम्मेदवार

पाल्पा, वाम–लोकतान्त्रिक गठबन्धन पाल्पा क्षेत्र नं. २ का उम्मेदवारहरुले पाल्पाको तिनाउ गाउँपालिकामा रहेका खानी तथा खनिज पदार्थहरुको उचित व्यवस्थापन गर्ने बताएकाम छन् । उनीहरुले तिनाउका विभिन्न स्थानमा पुुगी घरदैलो तथा सभालाई सम्बोधन गर्दै यहाँका खानी तथा खानी जन्यवस्तुको उचित व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेले तिनाउ क्षेत्रको खानी र खनिज पदार्थहरुको उचित व्यवस्थापन गरिने प्रतिवद्धता जनाएका छन् । उनले ले तिनाउ क्षेत्रमा चुनढुंगा, फलाम, ग्रेनाइट जस्ता खानिजहरुको उचित व्यवस्थापनका लागि आफू उद्योग मन्त्री हँुुदा सर्वेक्षण र अनुसन्धान समेत गरेको बताउँदै त्यसको समुचित व्यवस्थापन गरेर पाल्पाली जनताको विकासमा लगाउने बताए । तिनाउ गाउँपालिकाको वडा नं. २ दोभन, ३ झुम्सा र ६ नं. मस्याम क्षेत्रमा घरदैलो तथा सभामा बोल्दै उम्मेद्वार पाण्डेयले कतिपय क्षेत्रमा खानीको कारणले बस्ती नै विस्थापित हुनुपर्ने अवस्था आएकाले त्यसको उचित क्षतिपूर्ती सहित राहतको प्याकेज समेत ल्याउने बताए । उनले यहाँको जनताको समस्या समाधानका लागि निर्वाचित भएपछि जनताकै माग र योजनाको आधारमा काम गर्ने बताए ।

उनले पाल्पा बुटवल सडकको सिद्धबाबा क्षेत्रको बाटोमा आफुनै पहलमा १० अर्वको बजेट सुनिश्चित भएको र अहिले ठेक्का प्रक्रियासँगै सुरुङ्गमार्ग निर्माणको चरणमा रहेको समेत बताए । उनले सिद्धार्थ राजमार्ग वरपर राजमार्ग क्षेत्रको वस्तीमा टिप्परको धुलो र धुवाँ तथा ध्वनी प्रदुषण नियन्त्रणमा आफूले ध्यान दिने बताए । कार्यक्रममा प्रदेश सभा (२) २ का उम्मेद्वार तुलाराम घर्तीले आफू पनि तिनाउ क्षेत्रकै बासिन्दा भएकाले यस क्षेत्रको जनतालाई परेको मर्कामा आफू सदैव हातेमालो गर्न तयार रहेको बताए । उनले तिनाउको दोभान र मस्याम क्षेत्रको समग्र आर्थिक र पूर्वाधार विकासमा आफूले काम गरेको बताउँदै आगामी दिनमा समेत निरन्तरता दिने भएकाले गठबन्धनलाई विजयी बनाउनुपर्ने बताए । उनले दोभान क्षेत्रको पर्यापर्यटन विकास र आयस्तर वद्धिमा लगाउनको लागि रानी झरना, अविरल पार्क लगायतको क्षेत्रमा बजेट विनियोजन गरेको बताए । यस्तै सिद्धबाबा क्षेत्रको बाटोको बैकल्पिक मार्गको विकास झुम्सा चङ्गे मोटरबाटो, दोभान नुवाकोट मोटरबाटो, दोभान–कचल मोटरबाटोमा समेत आफूले बजेट विनियोजन गरेको बताउँदै यस क्षेत्रको समस्यामा आफूले दत्तचित्त भएर काम गर्ने बताउनुभयो । कार्यक्रममा बामलोकतान्त्रिक गठबन्धनका जिल्ला संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, नेपाली काँग्रेसका बरिष्ठ नेता जुद्ध बहादुर थापा, युवा नेता प्रेम पाण्डे, माओवादी केन्द्रका तिनाउ गाउँपालिकाका अध्यक्ष तथा पूर्व गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठ लगायतका नेताहरुले तिनाउ र समग्र पाल्पा जिल्लाको विकासको लागि गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनुपर्ने बताए ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update