पाल्पा,सत्ता गठबन्धनमा पाल्पा क्षेत्र नं.२ का उम्मेदवारहरुले पाल्पामा देखिएको बाँदर आतंक नियन्त्रणको योजना आफुहरुले ल्याउने बताएका छन् । उनीहरुले बगनासकाली गाउँपालिकाको चापपानीको गोपाल्दी, झिरभन्याङ्ग, बराङ्गदीका घिमिरेडाँडा, देउराली, ढापखोला, सिखरडाँडा बुलठाकी, लगायतका क्षेत्रमा आयोजित घरदैलो तथा चुनावी सभामा बोल्दै मतदाताहरुसँग यस्तो प्रतिवद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेयले बगनासकाली सहित पाल्पाका विभिन्न क्षेत्रमा बाँदरले आतंक मच्चाएको गुनासो आएको बाँदर र जंगली जनावरको कारण गाउँनै विस्थापित हुनुपरेको भन्दै त्यसको दीर्घकालिन र बैज्ञानिक व्यवस्थापनसँगै बाँदर नियन्त्रणमा समेत आफूले योजना बनाएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।
पाल्पामा विकासको खाका आफूले नै कोरेको उनले बताएका । आफू लामो समयदेखिको अनुभवी जनप्रतिधि भएकाले आफूले कोरेको विकासको खाकालाई मूर्त र अन्तिम रुप दिनको लागि आफू फेरी जनप्रतिनिधि हुन मैदानमा उत्रिएको बताए ।
जिल्लाको नेता पाण्डेयले यस क्षेत्रको विकासमा आफू सांसद भएपछि धेरै काम गरेको बताउँदै विपक्षी उम्मेदवारले आफ्नो एजेण्डा केही नभएपछि केही गरेन भनेर आरोप मात्रै लगाएको बताए । उनले रानीतिक एजेन्डा लिएर जनतासँग जानुपर्ने भन्दै तर अनावश्यक र अराजनीतिक कुराले जनतलाई दिग्भ्रमित नर्पान समेत चेतावनी दिए ।
बगनकासलीको चिलाङ्दी, बुलठाँकी–खानीगाउँ–दैलातुङ्ग हुँदै रानीमहल, चापपानी, बुलठाँकी– दर्लमडाँडा, राम्दी मोटरबाटो, खानीगाउँ दर्पुक मोटरबाटो, बगनासकालीका सहकारी, स्वास्थ्य चौकी भवन निर्माण, यहाँको कृषि, पशुपालन, शिक्षा, खानेपानी, सिंचाई लगायतका क्षेत्रमा धेरै योजनाहरु ल्याएको कतिपय सम्पन्न भइसकेको तर केही बाँकी रहेकाले त्यसलाई मूर्त रुप दिएर समृद्ध बगनासकाली निर्माण गर्ने मुख्य ध्येय रहेको बताए । उनले चन्द्रमावि र बेदमाविमा प्राविधिक शिक्षाको रुपमा विकास गर्ने, शिवाशन धामको गुरुयोजना अनुसार विकास गर्ने बताए । विपक्षी उम्मेद्वार तर्फ लक्षित गर्दै पूर्व उद्योग मन्त्री समेत रहेका पाण्डेले भने ‘सोमप्रसाद पाण्डेय धेरै पटक भयो, मैले केही पाइन मलाई जिताउनुस भनेर हुन्छ ? निर्वाचनमा जनप्रतिनिधि बनाउने कुरा भाग खाने, घरबनाउने, घडेरी किन्ने कुरा होर ?’ बरु जनताको सेवा गर्ने कुरा मुख्य रहेको पाण्डेले बताए । उनले आफू प्रत्येक निर्वाचनमा तल्लोतहदेखि नै जनताले सिफारिस गरेर जनप्रतिधि बनेकोले कहिल्यै पनि जनमतको अपमान हुने काम नगरेको भन्दै जनप्रतिनिधिले जनताको मतको कदरगर्न सक्नुपर्दछ भने । उनले अहिलेसम्म जनप्रतिनिधि भएपछि सांसदको भूमिकामा कहिल्यै पनि सरकारी साधनस्रोतको दुरुपयोग नगरेको समेत बताए ।
पाण्डेयले दुई तिहाई मत सहित संसदमा गएको ओलीले म नै राज्य हुँ भन्ने दम्भ देखाएको कारण अहिलेको गठबन्धन भएको बताए । कार्यक्रममा प्रदेश सभा (२) १ का उम्मेद्वार बीर बहादुररानाले आफू बगनासकालीकै बासिन्दा भएकाले त्यस क्षेत्रको जनताको सुख, दुखमा सदैव साथ र सहयोगमा रहने बताए । उनले बगनासकाली क्षेत्रको बाँदर समस्या, खानेपानी, सिंचाई, यातायात र कृषि उत्पादनसँगै आयआर्जन विकासमा आफूले पहल गर्ने बताए । कार्यक्रममा गठबन्धनमा जिल्ला संयोजक हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक नेत्र प्रसाद पाण्डेय राना लगायतले गठबन्धनको पक्षमा मत दिन आग्रह गरे ।
यस्तै गरी पाल्पा क्षेत्र नं. (२) २ का सांसद तुलाराम घर्ती मगरले अहिलेको गठबन्धन असल विचार बोक्नेहरुबीचको गठबन्धन भएकाले परिवर्तन, समृद्धि र संविधानको रक्षाको लागि गठबन्धनलाई विजयी बनाउनुपर्ने बताए । उनले काँग्रेस र कम्यूनिष्ट एकठाउँमा नमिल्दा सम्म देश अगाडि बढेको देखिएन, अब विकासको लागि पनि एकसाथ अगाडि बढेको बताए । नेकपा माओवादीका पोलिटव्यूरो सदस्य समेत रहेका घर्तीले रिब्दीकोट, तिनाउँ, रैनादेवी छहराको विकासमा आफूले जति काम विपक्षीले गर्न नसक्ने आफू निर्वाचित भएपछि विकासका बाँकी काम सम्पन्न गरेर आर्थिक र सामाजिक रुपान्तरणमा अगाडि बढाउने प्रतिवद्धता जनाए ।