Shittalpati
आचारसंहिता उल्लंघन गरे २५ हजार

पाल्पा, बिहीबार रातिदेखि मौन अवधि सुरु भएको छ । यो समयमा चुनावी प्रचार–प्रसार गर्न पाइने छैन् । यति कोही कसैले यो समयमा निर्वाचन आचारसंहिता उल्लंघन गरे २५ हजार जरिवाना तिर्नु पर्नेछ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण सम्बन्धी व्यवस्था छ ।

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था छ । सोही दफाको उपदफा ७ मा सो विपरितका कार्य गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ । आयोगले त्यही व्यवस्था अनुसार आचासंहिता विपरीत गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको हो । बिहीबार राति १२ बजेपछि मतगणनाको काम पूरा नभएसम्म कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी, मष्तिष्क मन्थन लगायतका निर्वाचन प्रचार–प्रसार सम्बन्धी कुनै पनि गतिविधि नगर्न पनि आयोगले निर्देशन दिएको छ । आयोगले फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा निर्वाचन प्रचार–प्रसार सम्बन्धी कुनै पनि सामग्री प्रकाशन वा प्रसारण, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रतिकमेन्ट नगर्न वा नगराउन तथा आफ्नो सामाजिक सञ्चालमा त्यस्तो सामग्री भएमा तत्काल हटाउन उम्मेदवार, राजनीतिक दल लगायत सम्पूर्ण सरोकारवालालाई निर्देशन दिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update