Shittalpati
गुल्मीको अर्वेनीमा स्थगित भएको मतदान सुरु

गुल्मी, जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका –२ अर्वेनीमा स्थगित भएको मतदान आज विहानबाट पुनःसुरु भएको छ । आइतबार भएको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्रमा मतदान गर्नु पर्नेमा प्रदेशसभाको प्रत्यक्ष तर्फको ५५ वटा मतपत्रमा मतदान भए पछि स्थगित भएको मतदान सहमति पछि सुरु भएको हो ।

अहिले अर्बेनीको भगवती माविमा कडा सुरक्षाका बिच मतदान भइरहेको नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराईले बताए ।
आइतबार मतदान चलिरहेको अवस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । मतदान केन्द्रमा रहेका १ हजार ३ सय ६९ जना मतदाता मध्ये ६ सय ६४ जनाले मतदान गरेका थिए । यहाँ (क) र (ख) केन्द्र कायम गरिएको छ ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी , नेकपा एमालेका उप महासचिव एवं प्रतिनिधि सभा सदस्यका उमेदवार प्रदीप ज्ञवाली,प्रदेशसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका सुदर्शन बराल र एमालेको तर्फबाट चिन्तामणी पाण्डे लगायतका उम्मेदवारहरु अहिले अर्बेनी केन्द्रमा पुगेका छन् । उता क्षेत्र न .२ को मतगणना भने सोमबार साँझादेखि सुरु भएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update