पाल्पा,पाल्पाका दुई वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । यहाँको क्षेत्र नं.२ मा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिए पनि पछिल्ला मतपरिणाम अनुसार एमालेका उम्मेदवार अगाडि आएका छन् । प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेका ठाकुर गैरेले ३ हजार ९४ मत ल्याएर अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी पूर्व उद्योग मन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश इन्चार्ज सोमप्रसाद पाण्डेयले २ हजार ४ सय २६ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै, मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले ९ सय ४२, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ४ सय १९,स्वतन्त्र उम्मेदवार उपेन्द्रराज गहिरेले १ सय ५५ मत पाएका छन् ।
यस्तै प्रदेश सभा २ (१) तर्फ भने गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले ३ हजार १ सय २८ मत ल्याएर अग्रस्थानमा छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका परशुराम भट्टराईले २ हजार ७ सय ४३ मत पाएका छन् । यस्तै मंगोल नेशनल अर्गनाइजेसनका लक्ष्मण गाहाले ९ सय ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु गैरेले २ सय २८ मत ल्याएका छन् । यो गनासकाली गाउँपालिका १, २, ३, ४ र ५ वडाको मत गणना सकिदाको अवस्था हो । अहिले वडा नं ६ को मतगणना भइरहेको छ ।
यस्तै उता क्षेत्र नं. १ मा पनि एमालेका उम्मेदवारले अग्रता लिएका छन् । यहाँको प्रतिनिधि सभा सदस्यको पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका नारायण प्रसाद आचार्यले २ हजार ७ सय ५९ मत ल्याएर अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी गठबन्धनका साँझा उम्मेदवार नेपाली काँग्रेसका जिल्ला उपसभापति ज्ञान बहादुर गाहाले १ हजार २ सय २५ मत ल्याएका छन् ।
यस्तै यहाँको प्रदेश सभा १ मा पनि एमालेका उम्मेदवारले अग्रता लिएका छन् । नेकपा एमालेका राजु प्रसाद श्रेष्ठले २ हजार ८ सय १मत ल्याएर अग्रस्थानमा छन् भने नेपाली नेपाली काँग्रेसका श्यामकान्त खनालले १ हजार २ सय ८४ मत प्राप्त गरेका छन् । यो निस्दी गाउँपालिका १, २, ३ र ४ का वडाको मत गणना सकिदाको अवस्था हो । यहाँ क्षेत्र नं .१ नापी कार्यालय रामपुरको भवनमा र क्षेत्र नं. २ को तानसेनस्थित बालमन्दिर भवनमा मतगणना भइरहेको छ ।