Shittalpati
अनुदानको भरमा सहकारी चल्दैनन् :  रजिष्ट्रार पाण्डे

पाल्पा । सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले अनुदान र सहयोगका भरमा चल्ले सहकारी संस्थाहरु चल्न नसक्ने बताएका छन् । जिल्लाको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाको पहिलो वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै रजिष्ट्रार पाण्डेले कानुनमा व्यवस्था भए अनुसार कागज मिलाएर अनुदानको भरमा चल्ने संस्थाहरु अब चल्न नसक्ने बताएका हुन् ।

उनले युवाहरुलाई स्वरोजगार बनाउने काममा सहकारीको भूमिका कम भएको औल्याउँदै, केवल अनुदान पाउने र नक्कली कागजात बनाएर सहकारीको नामबाट सरकारसँग लाखांै रुपैयाँ खान खोज्नेहरुलाई नरोक्दासम्म सहकारी अभियान ठूलावडा र टाठाबाठाको वरीपरी रहने खतरा रहेको बताए । रजिष्ट्रार पाण्डेले भने ‘अब सहकारीले उत्पादन, बजारीकरण र सदस्यहरुको आर्थिक, सामाजिक विकासमा जोड दिदै, सहकारीमा कालो धन भित्रिन सक्ने अवस्थाप्रति हामी सबै सजग हुनुपर्छ, मागेर कहिल्यै धनी भइदैन, काम गर्नुपर्छ, अनुदान र सहयोगको भरमा चल्ने संस्थाहरुको भरमा सहकारी चल्दैनन् ।’ मर्जको अभियानलाई देशव्यापी बनाउनुपर्नेमा उनले जोड दिए ।

रजिष्ट्रारले पाण्डेले भने ‘अब मेहनत र उर्जाशील भएर नलाग्दासम्म सहकारी अभियानले सार्थकता पाउन सक्दैनन् ।’ धेरै सहकारी संस्था भएका कारण अनुगनम, निरीक्षण र उनीहरुलाई व्यवस्थित गर्न समस्या भएकाले पनि सहकारी मर्ज गर्नुको विकल्प नरहेको भन्दै नेपालका ३५ हजार भन्दा धेरै सहकारीलाई मर्ज गरेर १० हजारमा झार्नुपर्छ भने । बैंकले एक लाख रुपैयाँ जम्मा गर्दा आम्दानीको स्रोत खोज्न थालेपछि सहकारी संस्थाहरुमा पैसा जम्मा गर्नेहरु बढ्न सक्छन्, त्यो पैसा कहाँबाट, कसरी आयो भन्ने हिसावले पनि नियमन शुरु गर्नुपर्ने बेला आएको रजिस्टार पाण्डेले बताए । बगनासकाली गाउँपालिका भित्रका बराङ्गदी स्वाबलम्वन, सिर्जना सहकारी र जनजागृति महिला बराह बहुउद्देश्यीय सहकारी संस्था एक आपसमा गाभिएर बनेको बगनासकाली बहुउदेश्यीय सहकारी संस्थाले समयानुकुल आफुलाई परिमार्जित गरेकोमा उनले धन्यवाद समेत दिएका थिए । कार्यक्रममा विशिष्ट अतिथि बगनासकाली गाउँपालिकाकाकी उपप्रमुख सरस्वती चिदीले सहकारीको मर्म र भावना अनुरुप गाउँ सरकार अगाडि बढेको बताउँदै, नीति र थितिले नचल्ने सहकारीलाई कारवाही गर्न पछाडी नपर्ने धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘स्थानीय सरकार सहकारी प्रर्वद्धनमा लागको छ । अझ लाग्छ, तर त्यसबाट प्राप्त हुने प्रतिफल जनताको आर्थिक संमृद्धि लक्षित हुनुपर्छ ।’ कार्यक्रममा जिल्ला बचत तथा ऋण संस्था जिल्लाका कार्यवाहक अध्यक्ष जगदीश भट्टराईले सहकारीले क्षमता र सीपको विकासलाई पनि जोड दिनुपर्ने धारणा व्यक्त गरे । जिल्ला सहकारी संघका सचिव तथा सहकारी अभियान्ता भूपति पाण्डेले जिल्लाको सहकारी अभियानमा संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य वामदेव बस्याल, वडाअध्यक्ष गणेश बस्याल, स्थानीय युवा सामाजिक अभियन्ता हरि पाठक, पत्रकार दयाराज न्यौपाने, शेयर सदस्य पवित्रा बस्याल, लेखा सुपरिवेक्षण समितिका संयोजक मोतीलाल बस्याल लगायतले व्यक्तिले सहकारीताको भावनालाई अगाडि बढाउन सके आर्थिक विकासमा टेवा पुग्ने धारणा व्यक्त गरे । संस्थाका अध्यक्ष कृष्ण भुसालको सभापतित्व, उपाध्यक्ष विमला बस्यालको स्वागत, सचिव कमलराज तिमिल्सेनाको सञ्चालनमा कार्यक्रम भएको थियो । तीनवटा संस्था मर्ज भएपछि महिला सदस्य ५ सय ४५, पुरुष सदस्य ३ सय ८७, बाल सदस्य २ सय ७५ जनाबाट संस्थाको १ करोड भन्दा धेरै शेयर पूँजी रहेको छ ।

प्रकाशित मिति: शनिबार, पुस २६, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update