पाल्पा, गुल्मी क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका नेता डा.चन्द्र भण्डारी र नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीबीच कसले चुनाव जित्लान् भनेर सर्वत्र चासोको विषय बनेको छ । दुवै प्रभावशाली नेता भएकाले पनि यि दुईबीचको चुनावी भिडन्त सर्वत्र चासोको विषय बनेको हो ।
यहाँको पछिल्लो मतपरिणाम अनुसार भण्डारी र ज्ञवालीको कडा प्रतिस्पर्धा देखिएको छ । यहाँ नेपाली काँग्रेसका भण्डारी ज्ञवाली भन्दा ९ सय ८४ मतले अगाडि छन् । भण्डारी १२ हजार ५ सय ४ मत ल्याई अग्रस्थानमा छन् भने निकटतम प्रतिद्वन्द्वी ज्ञवाली ११ हजार ५ सय २० मतले भण्डारीलाई पछ्याइरहेका छन् ।
२०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनबाट भण्डारी र ज्ञवाली चुनावी लडाइँ लडिरहेका छन् । पहिलो संविधान सभा निर्वाचनमा ज्ञवालीले २३ हजार २ सय ५३ मत ल्याउँदा भण्डारीले २१ हजार १०१ मत पाएका थिए । २०६४ यता भएका ३ निर्वाचनमा ज्ञवालीले २ जित र भण्डारीले १ जित निकालेका छन् । अहिले ज्ञवाली ‘ह्याट्रिक’ गर्ने योजनामा छन् । भण्डारी ज्ञवालीसँगको प्रतिस्पर्धामा दोस्रो जित निकालेर बराबरी गर्ने दाउ छन् ।
२०७० को दोस्रो संविधान सभाको निर्वाचनमा भण्डारीले ज्ञवालीसँगको हार उल्ट्याएका थिए । ज्ञवालीले १८ हजार ६ सय ८१ मत ल्याउँदा भण्डारी २१ हजार १ सय ८९ मतसहित विजयी भए । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने ज्ञवाली विजयी भए । तत्कालीन बाम–गठबन्धनका उम्मेदवार ज्ञवालीले ३७ हजार ८सय १४ मत ल्याउँदा भण्डारीले ३० हजार २ सय ५६ मत ल्याएका थिए ।