Shittalpati
पराजित भएका पाण्डेय मतदातालाई भेट्न घरदैलोमा

पाल्पा, प्रतिनिधि सभा सदस्यमा पराजित भएका नेकपा एकिकृत समाजवादीका प्रदेश संयोजक सोमप्रसाद पाण्डेय यतिबेला मतदतालाई धन्यवाद दिन घरदैलोमा पुगेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा पाल्पा क्षेत्र नं. २ बाट पराजित भएका पाण्डेय मतदातालाई धन्यवाद दिन घरदैलोमा पुगेका हुन् ।

यहाँ विजयी उम्मेदवारहरु र्‍यालीसहित गाउँ गाउँ पुगिरेका बेला पराजित पाण्डेय भने मतदाताहरुको घर घरमा पुगेका छन् । उनले निर्वाचन लोकतान्त्रिक प्रणाली भएकाले जित हार स्वभाविक भएको भन्दै आफुलाई अमूल्य मदान गर्ने सम्पूर्ण मतदाताहरुलाई भेटेर धन्यवाद दिएको बताएका छन् । चुनावी परिणामको समीक्षा गर्दै उनी मतदाता भेट्न थालेका हुन् । हारेपनि कहीकतै विचलित नभएको उनी बताउँछन् । ‘आफू पराजित भएपनि कहीं कतै विचलित भएको छैन, जनताको सुख–दुःखमा सधैँ साथ दिइरहनेछु’ उनले भने । पाण्डेले आफु पाल्पाको विकास र समृद्धिको लागि हारे पनि सधँै सक्रिय भएर लाग्ने प्रण गरेका छन् । उनले मतदाताहरुलाई आफुले मतको सम्मान गरेको बताएका छन् । आफु नेतृत्वतहमा पुगेर काम गर्न नपाए पनि पाल्पाली जनताको समस्यामा भने लागि पर्ने बताएका छन् । पाण्डेय पराजित भएर पनि गाउँ–गाउँ पुगेको देख्दा धेरैले उनीबाट राजनीतिक दलहरुले संस्कार सिक्नुपर्ने बताएका छन् । पाण्डेय नेकपा एमालेका ठाकुरप्रसाद गैरेसँग पराजित भएका हुन् । गैरेसँग उनी ३ हजार ९ सय ६६ मतान्तरले पराजित भएका हुुन् । गैरेले २७ हजार ८ सय १७ मत ल्याएकमा थिए भने पाण्डेयले २३ हजार ८ सय ५१ मत ल्याएका थिए । उनी गठबन्धनबाट साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका थिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update