तानसेन । नेवारी कला शैलीमा बनेको पुरानो साँस्कृतिक घरको बैगलमा बसेर नेवारी परिकारको स्वाद लिनुको साथै साँस्कृतिक कार्यक्रम अहिले तानसेनको असन टोलमा भइरहेको छ । तानसेन नगरपालिका ३ असनटोलमा नेवारी भोजको आयोजना भएको हो ।
नेवार समुदायका खानाका परिकारलाई प्रचार–प्रसार गर्ने सोंचका साथ टोल विकास संस्थाको आयोजनामा शनिवार नेवारी भोज अर्थात् नेवाःध्वेय, आयोजना भएको छ । ‘संस्कृतिको जगेर्ना हाम्रो दायित्व, सुन्दर तानसेन बनाउने हाम्रो कर्तव्य’, भन्ने नाराका साथ नेवारी खानाका परिकार र नेवारी भोजको परम्परालाई निरन्तरता दिन एक दिवसीय भोज आयोजना गरिएको टोल विकास सस्थाका अध्यक्ष अनुजा बज्राचार्यले बताईन् । तानसेन बजार नेवारी संस्कृतिको प्रचुर सम्भावना बोकेको ठाउँ हो, यसको प्रचार–प्रसार र साँस्कृतिक तथा रहन सहन, भेषभुषालाई प्रचार गर्नुका साथै नेपाल भ्रमण वर्ष सन् २०२० को प्रचार–प्रसारमा पनि यो कार्यक्रम सहयोगी बन्ने टोल विकास संस्थाका सल्लाहकार, मदनलाल बज्राचार्यले बताए ।