Shittalpati
पाल्पामा बिहे भोजमा प्रयोग गरिएको पानीमा भेटियो ‘कोलिफर्म’

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका–१ चिर्तुङ्गधारास्थित घोरबन्दमा बिहे भोजमा प्रयोग भएको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणु ‘कोलिफर्म’ भेटिएको छ । स्वास्थ्य कार्यालय पाल्पाको प्रयोगशालामा बिहेमा प्रयोग गरिएको पानी परीक्षण गर्दा कोलिफर्म ब्याक्टेरिया फेला परेको पाइएको हो ।

बिहेको भोजमा प्रयोग भएको एउटा ड्रमको पानीमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले पुष्टि गरेको छ । बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो । त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराइले बताए । उनका अनुुसार ड्रमकै पानीमा फोहोर भेटिएको र परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको हो । कोलिफर्म ब्याक्टेरियाकै कारण झाडापखाल भएको हो भन्न नसकिने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताए । उनले भने,‘झाडापखाला अन्य कारणले पनि हुन सक्छ, तर अहिले नै कोलिफर्मकै कारण हो भन्न सकिदैन, यो अध्ययनकै क्रममा रहेको छ , मात्र के भन्न सकिन्छ भने प्रयोग गरिएको पानी दूषित हो ।’

पानीमा देखिएको कोलिफर्म झाडापखालाको एउटा इन्डिकेटर मात्र हो तर यो नै यसको कारण भने हुुन नसक्ने गिरीको भनाई छ । कोलिफर्म ब्याक्टेरिया दिशामा पाइने जीवाणु हो । पानीमा कसरी दिशाका जीवाणु मिश्रण भयो भन्ने यकिन भने हुुन सकेको छैन । झाडापखाला फैलिनुको अन्य पनि कारण हुन सक्ने भएकाले आवश्यक अनुसन्धानका लागि थप नमुनाको परीक्षण भइरहेको प्रमुख डा. गिरीले बताए । गत शनिबार घोरबन्दाका स्थानीय दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएका एक सय ८० जना विरामी भएका थिए । चिर्तु·धाराका एक सय ३५ र प्यूठानबाट जन्ती आएका ४५ जना बिरामी भएको बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले बताए । गाउँलेले ड्रमा राखिएको पानीसँगै भोजमा बटुक, पाडा (राँगो) को मासु, पुलाउ, आलु, गोभीको तरकारी, मेवाको अचार, आलु मुलाको अचार खाएका थिए । भोज आएका अधिकांसमा झाडापखालाको समस्या देखिएको थियो । उनीहरुमा सामन्य ज्वरो आउँने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालयको स्वास्थ्यकर्मीको टोलीले अहिले बिरामीको गाउँमै उपचार र परामर्श दिइरहेको छ ।

डा. सहितको स्वास्थ्यकर्मीले घर–घरमा पुगेर बिरामीहरुको चेक जाँच गरी आवश्यक औषधी दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिए । बिरामीहरु मध्ये ३८ जना पुुरुष र ६३ जना महिला रहेका छन् । जसमा १८ वर्ष भन्दा मुनिका १७ जना, ५ वर्ष मुनिका १ जना, १८ वर्षका १७ जना र १८ वर्ष भन्दा माथिका ६६ जना रहेका छन् । प्युठान नगरपालिका–६, गुरुङगाउँबाट जन्ती आएका थिए । जन्ती आएका एकै गाउँका ४५ जना पनि बिरामी परेका छन् । बेहुला बेहुलीसहित ४५ जना बिरामी भएका हुन् । यस्तै बगनासकाली गाउँपालिकाले बिरामी सबैको उपचार खर्च बेहोर्ने भएको छ । स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले बिरामी सबैको औषधी उपचारमा लाग्ने खर्च र औधषीको व्यवस्था पालिकाले गर्ने बताए । उनले भने,‘घरमा रहेका र अस्पतालमा उपचार गराइरहेका सबै विरामीको खर्चपालिकाले व्यहोर्ने निर्णय भएको छ ।’ अहिले बिरामी परेकाको स्वास्थ्यअवस्था सुधार हुँदै गएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update