गुल्मी, नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले फरक क्षमताका विद्यार्थीहरुलाई न्यानो कपडा दिने भएको छ । प्रतिष्ठानले चिसो बढ्दै गएपछि फरक क्षमताका विद्यार्थीहरुलाई न्यानो कपडा दिने भएको हो । उसले आफ्नो सातौं जिल्ला अधिवेशनको अवसरमा रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घास माध्यमिक विद्यालयमा अध्ययनरत फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने भएको प्रतिष्ठानका पूर्व जिल्ला अध्यक्ष जनक पन्थले बताए ।
प्रतिष्ठानले यहि मंसिर २९ गते देखि पुस २ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गरेर संस्थाको सातौं जिल्ला अधिवेशन गर्न लागेको छ । अधिवेशनको अवसरमा मंसिर २९ गते उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम राखिएको प्रतिष्ठानका अध्यक्ष बसन्त खत्रीले बताए । चिसो बढेसँगै फरक क्षमताका विद्यार्थीलाई सहयोग स्वरुप २३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने अध्यक्ष खत्रीले बताए । अधिवेशनको पुस २ गते हुने मञ्चको कार्यक्रममा राष्ट्रिय कलाकारसँगै विभिन्न व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम राखिएको प्रतिष्ठानले जनाएको छ । अधिवेशनको तयारी स्वरुप विभिन्न समिति बनाएर काम अगाडि बढाइएको प्रतिष्ठानका पूर्व अध्यक्ष खुमबहादुर खत्रीले बताए । प्रतिष्ठान कला संस्कृतिको संरक्षणसँगै विभिन्न सामाजिक कार्यमा पनि सक्रिय रहेको छ ।