पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले पूर्ण खोप सुनिश्चितता घोषण गर्ने तयारी थालेको छ । उसले २०८० वैशाखको दोस्रो हप्ता भित्रमा पूर्ण खोप सुनिश्तिता घोषणा गर्ने गरी आफ्नो गतिविधि अगाडि बढाएको छ । नगर भित्रका सबै वडालाई बैशाख पहिलो हप्ता भित्र पूर्ण खोप सुनिश्तिता घोषणा गर्न सबै वडामा माघ महिनादेखि चैत्र महिनाभित्र सबै घर घरमा पुगेर छुटेका बालबालिका भेटिएमा खोपको पहुँच सम्म पुर्याउने कामलाई नगर सरकारले तिव्रता दिएको छ ।
पूर्ण खोप सुनिश्चितताका लागि पालिकास्तरमा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दिगोपना र सरसफाई प्रवद्र्धधनको योजना तयारी गोष्ठी भएको छ । रामपुर नगरपालिकामा स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा योजना तयारी गोष्ठी कार्यक्रम भएको हो । गोष्ठी कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बालबालिकालाई पूर्ण मात्रामा खोप लगाई नगरलाई पूर्ण खोप सुनिश्चितता गर्न सबै सचेत भएर लाग्नु पर्ने बताए । उनले स्वास्थ्य क्षेत्र सुन्दा एउटा मात्रै जस्तो लागे पनि स्वास्थ्य नभए सबै क्षेत्र कमजोर हुने बताए । राज्यले स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेको बताउँदै उनले नगरले पनि स्वास्थ्य क्षेत्रको सुधार र गुणस्तरियताका लागि विभिन्न योजना सहित बजेट विनियोजन गर्ने बताए । साथै गुणस्तरिय सेवा प्रदानका लागि सबै स्वास्थ्यका कर्मचारी सचेत भएर लाग्न आग्रह गरे । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका जनस्वास्थ्य अधिकृत डाक्टर राजेन्द्र गिरीले स्थानीय तहले स्वास्थ्यलाई विकासको मुद्दा बनाउनुपर्ने बतथाएका छन् । उनले हरेक पालिका र वडाले स्वास्थ्यलाई समेट्ने गरी कार्यक्रम निर्माण गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका खोप अधिकृत विश्वनाथ न्यापानेले खोपको अवस्था, खोपको महत्व, पूर्ण खोप कार्यक्रमको उद्देश्य, पूर्ण खोप सुनिश्चितता घोषणाको प्रक्रिया लगायतका विषयमा सहजीकरण गरेका थिए । यस्तै रामपुर नगरपालिका स्वास्थ्य शाखाका तिर्थप्रसाद ढुंगानाले नगरपालिका भित्र खोपको अवस्थाको बारेमा जानकारी गराउँदै अभिलेखमा खोपको पहुँच कम देखिएपनि सबैले खोप पाएको बताए । उनले पछिल्लो ३ वर्षको अवधिमा नगरका ८० प्रतिशत जनता खोपको पहुँचमा रहेको तथ्याड्ढ सार्वजनिक गरे । बाँकी २० प्रतिशत पनि खोपको पहुँचमा रहेको तर तथ्याड्ढमा अभिलेख नराखेका कारण कम प्रतिशत देखिएको स्पष्ट पारे । रामपुर नगरपालिकाको सभाहलमा भएको गोष्ठीमा नगर भित्रका वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य स्वयमसेविका लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय पाल्पाका जनस्वास्थ्य अधिकृत डाक्टर राजेन्द्र गिरीको अध्यक्षतामा भएको गोष्ठी नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाको प्रमुख आतिथ्यता र स्वास्थ्य शाखा प्रमुख गिरीराज घिमिरेको सञ्चालनमा भएको थियो ।