Shittalpati
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मनाइँदै

पाल्पा, ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञान: उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित नेपालमा विविध कार्यक्रमको आयोजना गरी आज अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस देशभर मनाइदैछ । प्रदेश सरकार र स्थानीय पालिकाको अगुवाइमा जिल्लास्थित विभिन्न सरकारी निकायहरु, वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाहरु, सबै राजनीतिक दल, नागरिक समाज, गैरसरकारी एवं निजी संघसंस्थाहरु, ट्रेड युनियन, सञ्चार क्षेत्र र आप्रवासी श्रमिक तथा उनीहरुका परिवारसमेतको सक्रियतामा देशैभर कार्यक्रम हुँदै छन् ।

सरकारले भने दिवसको अवसरमा शुक्रबारदेखि नै सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मूल समितिले कार्यक्रम गरिरहेको छ । सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवास दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम मानवअधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस विश्वभर मनाइने गरिएको हो । मन्त्रालयले यस अघि सुरक्षित एवं मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि आप्रवासी श्रमिक दिवस सप्ताहव्यापी रूपमा मनाउने निर्णय थियो । वैदेशिक रोजगार विभागका अनुसार आव २०६५/६६ देखि २०७८/७९ सम्म दुई लाख ८६ हजार महिलासहित ५० लाख ८३३ जना श्रमिकले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update