Shittalpati
लुम्बिनी प्रदेशमा सरकार बनाउने कसरत, को बन्ला मुख्यमन्त्री ?

रामचन्द्र रायमाझी
पाल्पा, प्रत्यक्षतर्फको अन्तिम नतिजा र समानुपातिकतर्फको सम्भावित सिट संख्या स्पष्ट भएसँगै लुम्बिनी प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि कसरत सुरु भएको छ । संघीय सरकार गठनको प्रक्रिया सुरु भएसँगै प्रदेशमा पनि भाबी मुख्मन्त्री को बन्ला भन्ने अड्कलबाजी सुरु भएको छ । प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि आकांक्षीहरूले सम्बन्धित दलका शीर्ष नेतालाई भेटेर मुख्यमन्त्री बन्ने दौड थालेका छन् । सरकार सञ्चालनका लागि राजनीतिक नेतृत्वहरूले आ–आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् ।

सरकार बनाउन स्पष्ट बहुमत कुनै पनि दलहरूसँग छैन् । यद्यपि ठूला राजनीतिक दल काँग्रेस, माओवादी केन्द्र र एमालेका नेताहरूले दाबी गर्दै आएका छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमत जुटाउन ४४ मत चाहिन्छ । प्रदेशसभामा सत्ता गठबन्धनले प्रत्यक्ष र समानुपातिक गरी करिब ४१ सिट र एमाले गठबन्धनले ३७ सिट पाउने निश्चित छ । एमाले–जसपा–राप्रपा गठबन्धन भएको अवस्थामा ३७ सांसद हुने देखिन्छ । यस्तो अवस्थामा दुवै गठबन्धनले सरकार बनाउन नागरिक उन्मुक्ति, जनमत पार्टी र तीनजना स्वतन्त्र सांसदको साथ लिनुपर्ने देखिन्छ । प्रदेशसभा सदस्यमा निर्वाचित तीनैजना स्वतन्त्र उम्मेदवार माओवादी केन्द्रका बागी हुन् । यसका कारण पनि सत्ता गठबन्धनलाई उनीहरुले साथ दिन सक्ने आंकलन गर्न सकिन्छ । सत्ता गठबन्धनले नागरिक उन्मुक्ति र जनमत पार्टीलाई आफ्नो साथमा लिने प्रयास थालेको छ । गठबन्धनलाई साथ दिन दुवै दल सकरात्मक देखिएका छन् ।

नागरिक उन्मुक्ति र जनमत पार्टी काँग्रेससँग गठबन्धन गरेर सरकारमा सहभागी हुने विषयमा सकारात्मक भएको एक काँग्रेस नेताले बताए । उनका अनुसार काँग्रेसले सकेसम्म पहिलो चरणमै आफ्नो नेतृत्वमा एमालेबाहेकका सबै दललाई मिलाएर सरकार गठनको प्रयास गर्नेछ । ‘त्यो सम्भव नभए सरकारको नेतृत्व अर्को पार्टीको पनि हुन सक्छ,’ उनले भने,‘तर, अहिले काँग्रेसकै नेतृत्वमा सरकार बनाउने गरी आन्तरीक छलफल जारी छ ।’ यद्यपी एमाले पनि आफ्नो सरकार बनाउने कसरतमा भने छ । सरकार कसले बनाउला भन्ने चर्चासँगै मुख्यमन्त्रीको पनि उचिकै चर्चा चुलिएको छ । अहिले चिया पसलेदेखि हरेक चोक चोकमा मुख्यमन्त्री को बन्ला भन्ने अड्कलबाजी सूरु भएको छ । सत्ता गठबन्धनबाट मुख्यमन्त्रीमा काँग्रेस, माओवादी केन्द्र दुवैले दाबी गरेका छन् । काँग्रेसबाट मुख्य मन्त्रीका लागि डिल्लीबहादुर चौधरी, वीरबहादुर राना, अब्दुल रज्जाक गद्दीको नाम मुख्यमन्त्रीका लागि चर्चामा छ । गठबन्धनबाट राना र चौधरी बलिया दाबेदार हुन् । सभापति देउवानिकट चौधरी प्रदेश सरकारका पूर्व वन तथा वातावरणमन्त्री हुन् । राना रामचन्द्र पौड्यल निकट प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री हुन् ।

निर्वाचन लड्दा नै रानाले आफूलाई मुख्यमन्त्रीका रूपमा प्रचार गरेका थिए । रज्जाक संघीय सरकारमा राज्यमन्त्री भएका थिए । माओवादी केन्द्रले नेतृत्व पाए रोल्पा (क) बाट निर्वाचित पोलिटब्युरो सदस्य जोखबहादुर महरा मुख्यमन्त्री बन्न सक्ने देखिन्छ । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहालका विश्वास पात्र मानिन्छन् । उनी अध्यक्ष दाहालका पूर्वस्वकीय सचिव पनि हुन् । उनलाई मुख्यमन्त्री बनाउन अहिलेका मुख्यमन्त्री कुलप्रसाद केसीलाई टिकट नदिइएको बताईन्छ । एमालेबाट मुख्यमन्त्री बन्ने अवस्था आएमा भने लीला गिरी, भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी र भूमिश्वर ढकाल आकांक्षी छन् । काँग्रेस, माओवादी र एमालेका यी आंकक्षी मध्य मुख्यमन्त्री को बन्ला भन्ने जिज्ञासा सर्वत्र छ । यति बेला मुख्यमन्त्रीका आकांक्षीहरू पार्टीका शक्ति केन्द्र रिझाउनेदेखि संसदीय दलमा आफ्नो पक्षमा बहुमत जुटाउने कसरत गरिरहेका छन् । २०७४ सालको निर्वाचनमा प्रदेशसभामा प्रत्यक्षतर्फ २७ सिट जितेको एमाले १८ सिटमा खुम्चिए पनि पहिलो दल बनेको छ । २०७४ मा प्रत्यक्षतर्फ ७ सिट मात्र जितेको काँग्रेस गठबन्धनको सहयोगमा १७ सिटमा पुगेको छ । एमालेसँगको गठबन्धनबाट प्रत्यक्षमा १४ सिट जितेको माओवादी यस पटक काँग्रेससँगको गठबन्धनबाट ५ सिटमा खुम्चिएको छ । २०७४ को निर्वाचनबाट ५ दल लुम्बिनी प्रदेशसभामा छिरेका थिए । तर, यसपटक दलको संख्या बढेर ८ पुगेको छ ।

प्रकाशित मिति: आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update