Shittalpati
विद्यार्थीहरूलाई न्यानो कपडा

पाल्पा, जिल्लाको माथागढीमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बेथल जुनियर रेडक्रस सर्कल (बेथल बोर्डिङ स्कुल) तानसेनले माथागढी गाउँपालिका–५, हात्तिलुङ, धामिघामा रहेको कौडे प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

सर्कलले आफ्नो विद्यालयको वार्षिक कार्यक्रम अनुसार कौडेका ६४ जना विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरेको छ । उसले एक औपचारिक कार्यक्रमको आयोजना गरी न्यानो कपडा ट्रयाक सुट सेट वितरण गरेको हो । प्रमुख अतिथि तथा समाजसेवी यमबहादुर रानाले उक्त कपडा विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन् । कपडा हस्तान्तरण गर्दै रानाले सर्कलका विद्यार्थीहरुले विद्यार्थीहरुप्रति देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको बताए । उनले सदरमुकामदेखि टाढा रहेका र बहुसंख्यक दलित र जनजाती समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा सहयोगले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । रानाले सहयोगले विद्यार्थीलार्य मात्र नभई सामुदायिक र संस्थागत विद्यालयहरुको बीचको सम्बन्धलाई समेत सुदृढ बनाउने बताए ।

बेथल बोर्डिङ स्कुलका कार्यवाहक प्रिन्सिपल रुपचन्द्र थापाले विद्यार्थीहरुलाई सामाजिक सेवा भावनाको विकास र सामाजिक उत्तरदायितवप्रतिको बोध गराउनको यस्ता कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । सर्कलले विगतदेखि नै सामुदायिक विद्यालयमा पढ्ने दृष्टिविहिन तथा अल्पसंख्यक समुदायका विद्यार्थीहरुलाई न्यानो कपडा, शैक्षिक सामग्री, रेडियो सेट प्रदान गर्दै आएको प्रिन्सिपल थापाले बताए । उनका अनुसार सर्कलले मृगौला पीडित, बाढी पीडित, भुकम्प पीडितहरुका लागि पनि आर्थिक सहयोग गर्दै आएको छ । सर्कलका अध्यक्ष बिरिस सारुले बेथल बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुले टिफिन खाने पैसाबाट केही रकम बचाएर संकलन गरेको रकम र जुरेस सदस्य तथा शिक्षकहरुबाट स्वच्छिक रुपमा संकलन गरिएको ५० हजार रकमबाट उक्त न्यानो कपडा सहयोग गरेको बताए । कार्यक्रममा कौडे प्राथमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल थापा, माथागढी गाउँपालिकाका शिक्षा समिति सदस्य पूर्ण सुनार, पूर्व व्यवस्थापन समिति अध्यक्ष तुलबहादुर थापा, वडा महिला सदस्य घमीसरा कामी, विद्यालयका प्रअ देवसिं सुनारी लगायतले दुरदराजमा रहेका विद्यालयलाई सर्कलले गरेको सहयोग अनुकरणीय र प्रशंसनिय रहेको बताए । सर्कलका अध्यक्ष बिरिस सारुको अध्यक्षता र बेथल स्काउटका सचिव एलिना सारुको सञ्चालनमा कपडा वितरण कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update