पाल्पा, काँग्रेसमा संसदीय दलको नेता चयनका लागि बुधबार अर्थात् पुस ६ गते निर्वाचन हुने भएको छ । काँग्रेस निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि पुुस ६ निर्वाचन गर्ने भएको हो ।
निर्वाचन कार्यक्रम अनुसार पुस ४ गते मतदाता नामावली प्रकाशन गरिएको छ । त्यस्तै पुस ५ गते बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दिने कार्यक्रम रहेको छ । त्यस्तै ५ गते बिहान १०ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने समितिले जनाएको छ । ५ गते नै उम्मेदवारको दरखास्तउपर दाबी विरोध र उम्मेदवारले नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको निर्वाचन समितिले जनाएको छ ।
मतदानका लागि पुस ६ गते बिहान ८ बजेदेखि १० बजेको समय निर्धारण गरिएको छ । काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा पुष्पा भुसाल र प्रकाश स्नेहीलाई जिम्मेवारी दिएको छ । संसदीय दलको विधानबमोजिम कांग्रेसमा दलको नेता बन्न एकभन्दा बढीले उम्मेदवारी दिएमा निर्वाचन प्रक्रिया अपनाउनुपर्छ ।
कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले दलको नेतामा चुनाव लड्ने घोषणा गरिसकेका छन् भने नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री बन्ने इच्छा राखे पनि दलको नेताका विषयमा केही बोलेका छैनन् । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्री हुने उल्लेख छ । निर्वाचन मिति घोषण भएसँगै अब काँग्रेसमा दलको नेता को बन्ला भन्ने चासो सर्वत्र बढेको छ । पछिल्लो समयसम्म आइपुग्दा काँग्रेसमा दलको नेताका आकांक्षीमा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री थापा मात्र देखिएका छन् । नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री बन्ने इच्छा राखे पनि दलको नेताका विषयमा भने खुलेका छैनन् । त्यसैले चुनाव हुने दिनसम्म कोइरालाले कसलाई समर्थन गर्लान् भन्ने चासो देखिएको छ । संसदीय दलको नेता चयन गर्ने चुनावमा प्रतिनिधिसभामा काँग्रेसबाट निर्वाचित ८९ सांसद मतदाताका रुपमा रहने छन् ।