Shittalpati
पाल्पा एमालेको निर्वाचन समीक्षा

पाल्पा, नेकपा एमाले पाल्पाले पनि निर्वाचन समीक्षा गरेको छ । एमालेले मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका विषयमा समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा एमालेका दशवटै पालिकाका प्रमुखहरुले निर्वाचनका विषयमा जानकारी गराएका थिए । उनीहरुले आ–आफ्नो पालिकामा एमालेका उम्मेदवारले प्राप्त गरेको मत परिणाम र निर्वाचनको अवस्थामा विषयमा पार्टी नेतृत्वलाई जानकारी गराए । पार्टीका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले जिल्लामा एमाले पहिलो पार्टी बन्न सफल भएको बताए । यहाँका जनताले एमालेप्रति गरेको विश्वास, माया र भरोसालाई टुट्न नदिने उनले प्रतिवद्धता जनाए ।

नवनिर्वाचित संघीय सांसद तथा नेकपा एमाले पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरेले पाल्पाली जनताले आफूलाई दिएको अमूल्य मतको सम्मान हुने गरी काम गर्ने बताए । उनले जिल्लाको विकासका लागि पार्टी, प्रदेश र स्थानीय तहसँग हातेमालो गरेर अगाडि बढ्ने उद्घोष गरे । तत्काल सिद्धबाबाको सडकको स्तरोन्नति गर्न पहल गर्ने निर्वाचित सांसद् गैरेले बताए । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले नेता तथा कार्यकर्ताको अनुशासनले पार्टी मजबुत हुने बताए । जितेको जनप्रतिनिधिले मात्रै नभई एमालेका संगठित कार्यकर्ताले जनताका हरेक समस्यामा सहयोग गर्नुपर्नेमा उनले जोड दिए । केन्द्रीय सदस्य सिर्जना काफ्लेले पार्टीले पछाडी परेका वर्ग, समुदाय, लिंग र क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताइन् । बैठकमा नवनिर्वाचित संघीय सांसद नारायण आचार्य, प्रदेश सांसद खेमबहादुर सारुले आफूहरूलाई जिताउन भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिंदै जनताको आवश्यकता र मागका आधारमा विकास निर्माणका काम गर्ने बताए । बैठकमा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य झपेन्द्र जिसी, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य ओमबहादुर घर्तिमगर, परशुराम भट्टराई लगायतले एमाले पार्टीलाई जनताप्रति थप लोकप्रिय बनाउने गरी जनताको हितमा काम गर्न सुझाव दिए । सोही अवसरमा नवनिर्वाचित सांसदलाई सम्मान समेत गरिएको कार्यालय सचिव दीपक विश्वकर्माले बताए । पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षता, उपाध्यक्ष देवीलाल लामिछानेको स्वागत, सविच रामजी पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update