Shittalpati
काँग्रेस संसदीय दलको नेतामा गगन लड्ने पक्का, शेखरले सहयोग गर्ने

पाल्पा, नेपाली काँंग्रेसको संसदीय दलको नेतामा संस्थापनइतर समूहबाट महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने पक्का भएको छ । शेखर कोइरालाले थापालाई नै समर्थन गर्ने भएपछि उनी संंसदीय दलको नेतामा लड्ने पक्का भएको हो ।

मंगलबार बिहान बसेको बैठकले कोइराला समूहबाट संसदीय दलको नेतामा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेता कोइराला थापाको प्रस्तावक बस्ने भएका छन् । संस्थापन पक्षबाट भने सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दलको नेतामा उम्मेदवार बन्ने तयारीमा छन् । कांग्रेसमा एक वर्षअघि भएको महाधिवेशनको समीकरणमा सभापति देउवाको पक्षमा संसदीय दलमा पनि प्रस्ट बहुमत देखिन्छ । तर संस्थापनइतर समूहले महामन्त्री थापालाई सर्वसम्मत उम्मेदवार बनाएर उभ्याए फरक नतिजा आउन सक्ने अड्कलबाजी समेत भइरहेका छन् ।

संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन समितिले बुधबार हुने निर्वाचनका लागि सोमबार नै मतदाताको नामावली सार्वजनिक गरिसकेको छ । आज दिउँसो २ देखि ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको प्रथम नामावली आज दिउँसो ३ः३० बजे प्रकाशन हुनेछ भने दिउँसो ३ः३० देखि ४ बजेसम्म उम्मेदवारको नामावलीमा दाबीविरोध हुनेछ ।

अपरान्ह साढे ४ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ भने साँझ ५ः४५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेद्वारी दिनका लागि ५१ हजार रुपैयाँ दस्तुर लाग्ने भएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update