पाल्पा, काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । आज भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याएर विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका महामन्त्री गगन थापाले २५ मत ल्याए । काँग्रेस संसदीय दलको निर्वाचनमा नवनिर्वाचित ८९ सांसदले मतदान गरेका थिए ।
निर्वाचनमा थापाले आफ्नै समूहको पनि मत पाएनन् । उनले २५ मत मात्र ल्याए । जबकि १४ महाधिवेशनमा शेखर कोइराला पक्षमा खुलेका कम्तीमा ३२ सांसद अहिले निर्वाचित भएका थिए । अहिले तिनै सांसदमध्ये केहीले कित्ता परिवर्तन गरेका छन् । थापाका लागि सहयोग गर्न विश्वप्रकाश शर्मा र प्रदीप पौडेल पनि आएका थिए । यस हिसाबले हेर्दा थापाको मत बढ्नुपर्ने थियो । तर कोइराला समूहभित्रैको असन्तुष्टि र सत्ताको प्रभाव समेतले गर्दा गगनले आफ्नै समूह र त्यसमा जोडिन आइपुगेका सबैको मत पाएनन् ।