Shittalpati
रेडियो मदन पोखराबाट दूरशिक्षा एसइई पाठशाला

पाल्पा । सिक्ने र सिकाउने व्यक्तिहरू दुई भिन्नभिन्न स्थान र समयमा बसेर विभिन्न श्रव्य, दृश्य, जस्ता सामग्रीहरूको माध्यमबाट शिक्षा प्रदान गर्ने विधि दूरशिक्षा हो ।

दूरशिक्षाको उद्देश्यलाई अंगिकार गरी विश्वरभर फैलिएको कोरोना सन्त्रासका कारण अनिश्चित बनेको एसईइ परीक्षालाई मध्यनजर गर्दै तानसेन नगरपालिकाले रेडियो कार्यक्रम एसईइ पाठशाला सञ्चालन गरेको छ । एसईइको तयारीमा जुटेका विद्यार्थीहरुको परीक्षा अनिश्चित भएपछि तानसेन नगर सरकारले विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै स्थानीय रेडियोमार्फत दूरशिक्षा एसईइ पाठशाला सञ्चालन गरेको हो । नगरपालिकाले सामुदायिक रेडियो मदन पोखरा एफएम १०६ थोप्लो ९ मेगाहर्जको सहकार्यमा मंगलबारदेखि कार्यक्रम शुरु गरेको छ । एसईइ परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरुलाई लामो समय सम्मको लकडाउनले गर्दा प्रभावित हुने अवस्था सिर्जना भएकाले उनीहरुलाई मध्यनजर गर्दै दूरशिक्षा एसईइ पाठशाला सञ्चालनमा ल्याइएको नगर प्रमुख अशोक शाहीले बताए । स्थानीय रेडियोमार्फत सञ्चालन गरिएको कार्यक्रम विद्यार्थीहरुका लागि फलदायी हुने शाहीले विश्वास व्यक्त गरे ।

दूरशिक्षा रेडियो कार्यक्रम एसईइ पाठशाला हरेक दिन विहान सवा १० बजेदेखि ३ बजेसम्म प्रसारण हुने रेडियोका प्रवन्धक राजेश कुमार अर्यालले जानकारी दिए । स्थानीय शिक्षकहरु रेडियो स्टेशनमा आई अग्रेजी, गणित, विज्ञान, सामाजिक अध्ययन र कम्प्यूटर विषय रेडियोबाट बोलेरै सिकाउने प्रवन्धक अर्यालले बताए । मंगलबार गणित विषयका शिक्षक रामप्रसाद ज्ञवाली, विज्ञान विषयका राम जीवन ज्ञवाली, अंग्रेजी विषयका घोत्रीराज ढुङ्गना,सामाजिक विषयका यकराज ज्ञवाली,कम्प्युटर विषयका जीवन आचार्यले रेडियोबाटै विद्यार्थीहरुलाई विषयगत रुपमा सिकाएका थिए । प्रत्येक विषयको कक्षा सकिएपछि बीचमा विद्यार्थीहरुलाई यता उता जानका लागि १० मिनेट जति समय रहने छ । त्यो बेला विद्यार्थीहरु फ्रेस हुन सक्ने छन् । रेडियोले शिक्षकसँग टेलिफोन र फेसबुकमार्फत् पनि प्रश्न सोध्न सकिने व्यवस्था मिलाएको छ ।

विद्यार्थीहरुलाई घरमै बसीबसी परीक्षाको तयारी गर्नका लागि रेडियोले सञ्चालन गरेको दूरशिक्षले महत्वपूर्ण टेवा पुग्ने दमकडा माविका पूर्व प्रअ राधाकृष्ण शर्माले बताए । उनले भने‘रेडियोले वर्तमान समयलाई मध्यनजर गर्दै सञ्चालन गरेको एसईइ पाठशाला प्रशसंनिय रहेको छ ।’ मंगलबार रेडियोबाट पाठशाला कार्यक्रम सुनेका शर्माले आफु गणितको शिक्षक नभएको र ६८ वर्षको उमेरसम्म पनि भ्याट भन्ने कुरा थाहा नभएको भन्दै रेडियोबाट सुनेर भ्याटको परिभाषा जानेको बताए । समयमै परीक्षा नभएपछि प्रभावित बनेका विद्यार्थीहरुलाई रेडियोले सञ्चालन गरेको पाठशाला कार्यक्रम अत्यन्तै उपयोगी रहने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update