पाल्पा, जिल्लाको तानसेन नगरपालिका–१४, अर्गलीमा आलु प्रवर्धन महोत्सव गरिएको छ । तानसेन नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपि)को सहयोगमा ग्रामीण आर्थिक विकास संघ रेडाको समन्वयमा महोत्सव गरिएको हो ।
अर्गलीलाई आलु पकेट क्षेत्रको रूपमा विकास गर्न र यसको प्रवर्धन गर्ने उद्देश्यले महोत्सव गरिएको ग्रामीण आर्थिक विकास संघ (रेडा)ले जनाएको छ । महोत्सवमा आलुका विभिन्न परिकारहरूको प्रदर्शनी गरिएको थियो । आलुको चुकाउनी, आलुको खिर, आलुको अचार, आलुको पकौडा, आलु चिप्स बनाएर प्रदर्शन तथा बिक्री वितरण गरिएको थियो । महोत्सवमा आलुका परिकारसँगै स्थानीय कला, सांस्कृतिक नाँचको प्रदर्शनी, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रदर्शनी सहित विविध सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । स्थानीय स्तरमा उत्पादित कृषि वस्तु उत्पादन र बजारीकरणको अवस्थालाई महत्वले महत्वपूर्ण टेवा पुग्ने तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले विश्वास व्यक्त गरे । ग्रामीण भेगका वडाहरूमा कृषि, पशुपालन र पर्यटन क्षेत्रको विकास नहुँदासम्म समग्र तानसेन नगरपालिकाको विकास नहुने भएकाले कृषि प्रवर्धनलाई नगरपालिकाले विशेष प्राथमिकतामा राखेको उनले बताए । स्थानीय स्तरमै आयोजना गरिएको महोत्सवले गाउँमा उत्पादित आलुको बजारीकरणमा टेवा पुग्ने विश्वास किसानहरुले गरेका छन् । सो अवसरमा विगत दुईवर्षदेखि रेडाले सुरु गरेको आलु पकेट क्षेत्र निर्माणका क्रममा सहयोग पु¥याउने कृषक समूह र कृषकहरुलाई सम्मानसमेत गरिएको थियो । यहाँ आलु पकेट क्षेत्र निर्माणका लागि कृषि ज्ञान केन्द्रले समेत सहयोग गर्दै आएको छ ।