पाल्पा, परिवार नियोजनको नयाँ अस्थायी साधनका रुपमा आएको ‘सायना प्रेस’का बारेमा पाल्पामा छलफल तथा अन्तक्र्रिया गरिएको छ । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले पाल्पाका सञ्चारकर्मीहरुसँग ‘सायना प्रेस’का बारेमा छलफल तथा अन्तक्र्रिया गरेको हो । पाल्पामा पहिलो पटक अस्थायी साधनको रुपमा ल्याउन लागिएको ‘सायना प्रेस’को प्रभावकारीता, त्यसको प्रयोग र अवस्थाका विषयमा छलफल गरिएको छ । छलफल कार्यक्रममा पत्रकार महासंघका जिल्ला सचिव यज्ञमूर्ति तिमिल्सीनाले सायना प्रेस अस्थायी साधन अत्यन्त प्रभावकारी रहेको बताए । उनले यो साधन नयाँ भए पनि यसको प्रभावकारीता धेरै ठाउँहरुमा देखिएको धारण व्यक्त गरे ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रजनन् स्वास्थ्य कार्यक्रमका फोकल पर्सन टिकाराम अधिकारीले परिवार नियोजन संघ र स्वास्थ्य कार्यलय मिलेर आगामी आर्थिक वर्षदेखि जिल्लामा सहज हुने गरी साधनको उपलब्धता गराईने बताए । कार्यक्रममा संघका शाखा प्रबन्धक सोवा कान्त न्यौपानेले साधनको उपयोग र प्रभावकारीताका विषयमा जानकारी गराएका थिए । उनले यो साधन महिलाले प्रयोग गर्ने तीन महिने सुई रहेको बताए । यसको सही तरिकाले प्रयोग गरेमा ९९ प्रतिशत प्रभावकारीता रहेको न्यौपानेले बताए । ‘सायना प्रेस पनि अन्य परिवार नियोजनका साधनमध्ये एक हो, यो प्रभावकारी छ भनेर प्रमाणित भईसकेको छ, त्यसैले ढुक्क भएर प्रयोग गर्न सकिन्छ,’ उनले भने । सरकारले हरेक महिलालाई परिवार नियोजन वा परिवार योजनाको निर्णय लिने अधिकार दिएको उनले उल्लेख गरे । न्यौपानेले विश्वका अन्य देशमा प्रयोगमा आइरहेको यो सायना प्रेस बारे महिलालाई प्रभावकारी परामर्श र तालिम दिने गरी आफुहरु अगाडि बढेको बताए । यो सधान एक पटक लगाएपछि तीन महिना गर्भ रहन रोक्ने, यो सुई महिनावारी भएको ७ दिनभित्र अथवा महिलाले गर्भवती नभएको जुनसुकै समयमा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट लगाउन सकिने छ । युएनएफपीएको सहयोग र स्वास्थ्य कार्यालयको पाल्पाको समन्वयमा आगामी आर्थिक वर्षदेखि पाल्पामा यो सेवा विस्तार गरिने संघका प्रवन्धक न्यौपानेले बताए । कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि र संघका सवयसेवहरुको उपस्थिती रहेको थियो । संघका जिल्ला सदस्य उमानाथ न्यौपानेको अध्यक्षता, युवा सदस्य कमल बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।