गुल्मी, गुल्मी अस्पतालमा हाड्जोर्नी विशेषज्ञ सेवा विस्तार गरिएको छ । रेसुङ्गा नगर सरकारको पहलमा यहाँ हाडजोर्नी सेवा विस्तार गरिएको हो ।
रेसुङ्गा नगरपालिकाले हाडजोर्नी विशेषज्ञ राख्नका लागि प्रोत्साहन भत्ता उपलब्ध गराउन थालेपछि यहाँ हाड्जोर्नी विशेषज्ञ सेवा विस्तार गरिएको छ । विशेषज्ञ सेवा विस्तार हुन थालेपछि भने सेवाग्राहीलाई सहज भएको छ । यसअघि जिल्लामा हाडजोर्नी सम्बन्धी डाक्टर नहुँदा पाल्पा, बुटवल जानुपर्ने बाध्यता रहेको थियो । जिल्लाका विरामीहरुको सेवालाई मध्यनजर गर्दै विशेषज्ञ सेवा विस्तार गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए । गुल्मी अस्पताललाई आम नागरिकले मेरो अस्पताल हो भन्ने भावना जगाउन थप स्तरी सेवाका लागि नगरपालिकाले सधै सहकार्य गर्ने उनले बताए । नगर प्रमुख पन्थीले अब यो सेवा जिल्लामै सुरु भएपछि आम नागरिकको समय र खर्च बच्ने विश्वास लिए ।
गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञा डाक्टर प्रदीप सिवाकोटीको टोलीले सेवा दिन थालेको छ । हाडजोर्नी विशेषज्ञ सेवा सुरु गर्न गुल्मी अस्पतालका प्रमुख उत्तम पच्या र रेसुङ्गा नगरपालिका नगर प्रमुख खिलध्वज पन्थीले सम्झौता गरेका छन् । पहाडी भेगमा हाडजोर्नीसँग सम्बन्धित बिरामीको संख्या धेरै हुने गरेको छ । हाल जिल्ला अस्पतालबाट यस्ता बिरामीको सामान्य उपचार गर्ने बाहेक अरुलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता छ । पहाडी अस्पतालमा डाक्टरहरु पनि आउन नमान्ने भएकाले रेसुङ्गा नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउने तलव बमोजिम प्रोत्साहन भत्ता उपलब्ध गराएर सेवा दिन थालिएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । हड्डी भाचिएका तथा हाडजोर्नी सम्बन्धी विभिन्न समस्या भएका विरामीहरुले सेवा पाउने छन् ।
हाडजोर्नी उपचारको क्रममा अप्रेशनका लागि आवश्यक सी–आरएम मेसिन रेसुङ्गा नगरपालिकाले खरिद गर्ने भएको छ । हाडजोर्नी विशेषज्ञ सेवा सञ्चालनका लागि आवश्यक आधारभूत उपकरण खरिद प्रक्रिया अगाडि बढाइने गुल्मी अस्पताल प्रमुख उत्तम पच्याले बताए । एनेस्थेसिया मेसिन, फ्याक्चर टेवल, अटो क्लेभ, सी–आरएम लगायत ट्रमा सर्जनका लागि आवश्यक पर्ने आधारभूत उपकरण आवश्यक पर्दछ । विशेषज्ञ सेवा सुरु भएपछि त्यसलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने सामग्री र जटिल प्रकारको सर्जरी गर्नु परेमा आवश्यक पर्ने औजार उपकरण थप जनशक्ति पनि आवश्यक पर्ने भएकाले त्यसका लागि पनि अहिलेदेखि नै योजना बनाइएको डाक्टर पच्याले बताए ।