पाल्पा, नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले तानसेनमा तथ्यमा आधारित सामुदायिक स्वास्थ्य तथा आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ । समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आकस्मिक स्वास्थ्य कार्यक्रम अन्तर्गत रेडक्रसले पाँच दिने तालिम सञ्चालन गरेको हो ।
तालिम पुस ११ गतेदेखि १५ गतेसम्म सञ्चालन गरिएको रेडक्रसले जनाएको छ । तालिममा रेडक्रस अभियान, समुदाय परिचालन, स्वयमसेवा, संकटासन्न समुदाय, सञ्चार तथा सम्बन्ध विस्तार, व्यवहार परिवर्तन तथा सञ्चार सिप, सर्ने तथा नसर्ने रोगहरु, परिवार नियोजन, मनोबैज्ञानिक प्राथमिक उपचार जस्ता महत्वपूर्ण विषयहरुमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा रेडक्रस केन्द्रीय कार्यालयका उपनिर्देशक शिवराम गौतम, कार्यक्रम संयोजक राजु राउत, कार्यक्रम अधिकृत विनोद भारती, जनस्वास्थ्य निरीक्षक दिलिप कार्की, चन्द्रतारा बस्याल लगायतले प्रशिक्षण दिएका थिए ।
तालिमको एक औपचारिक कार्यक्रमका बिच शुक्रबार समापन गरिएको छ । कार्यक्रममा शाखाका सभापति बुद्धिप्रसाद शर्माले प्राथमिक उपचार तालिमले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले रेडक्रसको महत्वपूर्ण सिप मध्ये प्राथमिक उपचार सिप एक भएको भन्दै तालिममा सहभागीहरुले सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गरे । शाखाका कोषाध्यक्ष भीमसेन कार्कीले रेडक्रसको स्वययसेवी भावनाको विकास गर्न र आजीवन सदस्य बन्नुपर्नेमा जोड दिए । कार्यक्रममा शाखाका उपमन्त्री केशव राज नेपाल, वरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्की लगाएतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा सहभागी शोभा अर्यालले तालिममा सिकेका अनुभवहरुलाई व्यवहारमा उतार्ने बताइन् ।