रामचन्द्र रायमाझी
पाल्पा, आइतबार सामाजिक सञ्जालमा केही नेपालीले टोपी लगाएको तस्वीर राख्दै क्याप्सन लेखे– ‘टोपी दिवस ।’ सामान्य अवस्थामा टोपी नलगाउनेहरुले पनि टोपी दिवसकै लागि भनेर सामाजिक सञ्जालमा राख्नकै लागि टोपी लगाए । अझ कोहिल्यै पनि नलगाउने महिलाहरुले समेत टोपी लगाएका तस्वीर फेसबुुकमा पोष्ट गरेको पाइयो ।
अंग्रेजी नयाँ वर्षको दिन उनीहरुले टोपी लगाएका तस्बिर सामाजिक सञ्जालमा राख्न थालेको दश वर्ष भयो । तर, परम्परा जोगाउन र राष्ट्रियताको भावनालाई समेट्न भने यो दिवसले अझै सकेको छैन । नेपाली मौलिक संस्कृतिसँग जोडिएको टोपी नेपालीको सान र मानको प्रतिक समेत रहयो । तर यही टोपीको प्रयोग भने हिजो आज आधुनिकतासँगै हराउन पुगेको छ । तिहारमा उपहार दिंदा टोपीको विकल्पमा अन्य रुप आएका छन् । यसले पनि टोपीको प्रयोग विस्तारै हराउन थालेको महशुस गर्न थालिएको छ । टोपीको प्रयोग घट्दै गएपनि यसको पहिचान भने नेपालीले बिर्सिएका छै्रनन् । वर्षमा एक दिन भएपनि शिरमा राखेर ढाका टोपीको पहिचान भने दिलाएका छन् ।
वर्षको एक दिन टोपी लगाएर सामाजिक सञ्जालमा देखाएर मात्र परम्परा र राष्ट्रियता नझल्किने केही विश्लेषकहरु बताउँछन् । टोपी दिवसकै लागि भनेर सामाजिक सञ्जालमा राख्नकै लागि टोपी लगाउनु हाँस्यास्पद भएको राप्रपाका नेता देवेन्द्रबहादुर रायमाझी टिप्पणी गर्छन् । महिलाहरुले समेत टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर हाल्ने प्रचलन माथि टिप्पणी गर्दै उनी भन्छन्, ‘टोपी दिवसको नाममा चलेको यो परम्परा हाँस्यास्पद भन्दा बढी केही पनि हैन ।’ दिवसका दिन सामाजिक सञ्जालभर टोपी लगाएर फोटो पोष्ट गरेकाहरु प्रति लक्षित गर्दै साहित्यकार तथा त्रिभूवन बहुमुखी क्याम्पसका उपप्राध्यापक टंक पन्थले देखासिकी रोचक लहड चल्ने गरेको कवितामार्फत सामाजिक सञ्जालनमा व्यक्त गरेका छन् । उनले कवितामा भनेका छन् :–
‘दृष्टिको कति महत्व रहेछ भन्ने कुरा आँखा ढोपी देखियो
उही मानिस कहिले निकै सज्जन कहिले आरोपी देखियो
देखासिकी रोचक लहड चल्छ यो सामाजिक सञ्जालमा
आज मात्र धेरै सज्जनहरूका शिरमा नेपाली टोपी देखियो ।’
साहित्यकार तथा उपप्राध्यापक महेन्द्र पन्थी टोपी लाउनेले धोती लाउनेको र धोती लाउनेले टोपी लाउनेको अस्तित्व स्वीकार गर्नुपर्ने बताउँछन् । उनले दिवसकै दिन सामाजिक सञ्जाल फेसबुुकमा पोष्ट गर्दै भनेका छन् ‘टोपी लाउनेले धोती लाउनेको र धोती लाउनेले टोपी लाउनेको अस्तित्व स्वीकार गर्न सक्नुपर्छ । अन्यथा धोती न टोपी हुने परिस्थिति आउनसक्छ । नेपाली टोपी दिवसको शुभकामना!’
सामाजिक सञ्जालमा देखिएका कतिपय दृष्यहरु राष्ट्रियताप्रति ओतप्रोत भएर राखिएको देखिन्छ भने कतिपय दृष्यहरु देखाउनकै लागि पोष्ट गर्ने गरिएको गुल्मीका सामाजिक व्यक्तित्व गोविन्द पौडेल बताउँछन् । अघिपछि टोपी नै नलगाउने व्यक्तिले वर्षको एक दिन टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्नुले टोपीको अस्तित्व र पहिचानलाई स्वीकार गरे पनि त्यसको प्रयोगमा बेवास्त गरेको उनको बुझाई छ । पौडेल भन्छन् ‘पहिले –पहिले बाबु बाजेले ढाका टोपी र दौरासुरुवाल लगाउने चलन थियो तर अहिले त्यो विस्तारै हराउदै गएको छ ।’ पहिचानलाई कायम राख्ने नै हो भने टोपी वर्षमा एक पटक होइन सधै भरि नै लागाउनुपर्ने उनको भनाई छ । नेपालीहरुले नयाँ वर्ष गेग्रोरियन पात्रो अनुसार विगत १० वर्षअघिदेखि हरेक वर्षको जनवरी १ लाई धुमधामका साथ टोपी दिवसका रुपमा मनाउँदै आएका छन् । टोपीको पहिचान कायम राख्नकै लागि सामाजिक सञ्जालबाट अभियान सूरु भएको हो । दिवसका अवसरमा देशभर नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल र टोपी लगाएर युवाहरुले र्याली निकाल्ने गर्दछन् । आाइतबार काठमाडौं लगायत ठूला शहरहरुमा युुवाहरुले टोपी लगाएर र्याली निकाले । विगतमा पाल्पामा टोपी लगाएर सडकमा युवाहरु निस्किने गरे पनि यस वर्ष भने त्यस्तो देखिएन । बरु दिवसका दिन पाल्पाका युवाहरुले ढाका टोपीमा सजिएका फोटाहरु सामाजिक सञ्जालमा पोष्ट गरिएको देखिन्थ्यो । उनीहरुले दिवसको अवसरमा शुभकामना आदान–प्रदान गर्दै टोपी लगाएका फोटाहरु पोष्ट गरेका दृष्यहरु देखिए ।