Shittalpati
क्याम्पसलाई रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोग

गुल्मी, जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । जिल्लाको शैक्षिक धरोहर भनिएको रेसुङ्गा बहुमुखी क्याम्पसलाई आर्थिक संकट भएपछि रेसुङ्गा नगरपालिकाले ५० लाख सहयोग गरेको छ । क्याम्पसलाई सोमबार रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले क्याम्पस सञ्चालन समितिका अध्यक्ष श्रीप्रसाद भलामीलाई ५० लाखको चेक हस्तातरण गरेका हुन् ।

संकटकाल घोषणा गरेको क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले गत साउनमा एक करोड दिने घोषणा गरेको थियो । घोषणा गरेको उक्त रकम मध्ये आधा रकम नगरपालिकाले सोमबार मात्रै हस्तातरण गरेको हो । आर्थिक संकटकाल घोषणा गरेको क्याम्पसलाई क्याम्पसलाई पुरानै लयमा फर्काउने उद्देश्यले रेसुङ्गा नगरपालिकाले नगर सहयोग गरेको नगरप्रमुख खिलध्वज पन्थीले बताए । गुल्मीको भाग्य र भविष्यसँग जोडिएको क्याम्पसमा आर्थिक दायित्व बढेकोले आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए । कोभिड–१९ महामारीका कारण शैक्षिक सत्र लम्बिएको, विद्यार्थी संख्या कम भएको लगायतका कारण आर्थिक संकटमा परेको हो । आर्थिक संकटकाल घोषणा गरेको गुल्मी जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसले आर्थिक भार घटाउने उदेश्यले ९ जना प्राध्यापक र कर्मचारीलाई अनिवार्य अवकास दिएको छ । क्याम्पस सञ्चालन समितिको बैठकले ७ जना प्राध्यापक र २ जना कर्मचारीलाई अनिवार्य अवकास दिएको हो ।

आर्थिक अभावले क्याम्पस सञ्चालन गर्न कठिनाइ भएको भन्दै साउन ३० गते सञ्चालक समितिले आर्थिक संकटकालको निर्णयको थियो । क्याम्पसले गत वर्षको पुस महिनादेखि हालसम्म प्राध्यापक कर्मचारीलाई डेढ करोड कढि रकम दिन बाँकी रहेको छ । क्याम्पसलाई मासिक रुपमा झण्डै ८ लाख रुपैयाँ ऋण बढ्दै गएपछि आर्थिक संकटकाल घोषणा गरी प्राध्यापक र कर्मचारी कटौती गर्ने निर्णयमा पुगेको सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले बताए । क्याम्पसमा अहिले विद्यार्थीबाट वार्षिक रुपमा हुने आम्दानी भन्दा प्राध्यापक र कर्मचारीको तलबमा मात्र झण्डै दोब्बर खर्च हुने गरेको छ । २०३९ सालमा स्थापना भएको क्याम्पसले विगत ४० वर्षदेखि उच्च शिक्षा प्रदान गर्दै आएको छ । तर क्याम्पसमा आर्थिक संकट घोषणा भएलगत्तै पछिल्लो समय चारैतिर आलोचना भइरहेको छ । क्याम्पसको नियमित आम्दानी रोकिएसंगै ग्रामीण भेगमा क्याम्पसहरु सञ्चालनमा आएपछि एकातिर आर्थिक संकटको अवस्था आएको छ भने विगतको तुलनामा विद्यार्थीको संख्या घट्दो छ । हाल क्याम्पसमा ४१ जना प्राध्यापक कर्मचारी रहेका थिए । ७ वटा सुबिधा सम्पन्न भवन रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको ६५ रोपनी जग्गा रहेको छ । –अनिल खत्रीको सहयोगबाट

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update