पाल्पा, पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ पाल्पा शाखाले ३१ औं स्थापना दिवस तथा साधारणसभा मनाएको छ । संघले तानसेनको श्रीनगरडाँडामा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस तथा साधारणसभा मनाएको हो ।
सभाको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै खनालले पत्रकारिताको मर्म र भावना अनुुरुप काम गर्न पत्रकारहरुलाई आग्रह गरे । प्रमुख अतिथि समेत रहेका उनले पत्रकारिताको गरिमालाई बचाइ राख्न पत्रकारहरुले त्यसको मर्मलाई बुुझ्नुुपर्ने बताए । विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पछिल्लो समय पत्रकारिता क्षेत्रमा थुप्रै चुनौतीहरु रहेकाले त्यसलाई सामाना गर्न पत्रकारहरुले विश्वासनिय पत्रकारिता गर्नुपर्नेमा जोड दिए । उनले समाजको ऐनाको रुपमा पत्रकारलाई हेरिने भएकाले सोही अनुरुप काम गर्न पत्रकारहरुलाई आग्रह गरे । महासचिव खड्काले संघमा सदस्यता शुद्धिकरण अहिलेको आवश्यकता रहेको औल्याए ।
कार्यक्रममा नेपाली काँग्रेसका सभापति हिमालदत्त श्रेष्ठले समाजको विकृति र विसंगतीका विरुद्ध निपष्क्ष भएर कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । उनले समाजको ऐना पत्रकार भएकाले सोही अनुसार काम गर्नुपर्नेमा जोड दिए । सभापति श्रेष्ठले पत्रकारहरुको हित र अधिकारका लागि तीनै तहका सरकार जिम्मेवार बन्नुुपर्ने बताए । नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरेले जनताको जनजिविकाका विषयमा सशक्त ढंगले कलम चलाउन पाल्पाली पत्रकारहरुलाई आग्रह गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव मथुरा ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष डुलबहादुर कुंवर,राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव सोमप्रसाद गैरे, प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त, तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठ, रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी, बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी,पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ, नेपाल पत्रकार महासंघ पाल्पाका सल्लाहकारहरु झपेन्द्र गहिरे,गोविन्द भट्टराई, राजेश कुमार अर्याल, नेपाल प्रेस युनियनका उपाध्यक्ष माधव अर्याल, नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्मा, बुद्धिजीवी निर्मल श्रेष्ठ,श्रीनगर एफएमका अध्यक्ष भीमसेन कार्की, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की लगायतले विकास र समृद्धिको दिशामा सशक्त भएर कलम चलाउन सम्पूर्ण पाल्पाली पत्रकारहरुलाई आग्रह गरेका छन् ।
सोही अवसरमा संघले प्रकाशन गरेको प्रवाह बुलेटिनको समेत विमोचन गरिएको थियो । सभामा सचिव यज्ञमूर्ति तिमिल्सिनाको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मुक्ति न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका जिल्ला सभापति रेखीराम रानाको अध्यक्षता, उपसभापति भरत शर्माको स्वागत, सचिव यज्ञमूर्ति तिमिल्सिनाको सञ्चालनमा कार्यक्रम भएको थियो ।