Shittalpati
स्ववियु निर्वाचनले दिएको सन्देश

विद्यार्थीको शैक्षिक हक, अधिकार र अवसरका लागि संस्थागत रूपमा बोल्ने निकाय भनेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हो । विश्वविद्यालयले यसको आवश्यकतालाई आत्मसात गर्दै नियमसंगत रूपमा मान्यता प्रदान गरी एक विश्वासिलो सहयोगीका रूपमा अँगालेको छ । तर, पछिल्लो समय स्ववियु नै दलको राजनीति गर्ने थलो बन्दा यसको नकारात्मक असर उच्च शिक्षा दिने क्याम्पस र शिक्षा लिने विद्यार्थीमा परेको प्रत्यक्ष देखिन्छ । राणा शासन, पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपालको विद्यार्थी आन्दोलनले महत्वपूर्ण भूमिका खेलेकोमा कसैको दुईमत छैन । तर तत्कालिन अवस्थामा स्ववियुको भूमिकाको जुन औचित्य थियो, अहिलेको अवस्थामा त्यो छैन । अहिलेको विद्यार्थी संगठन राजनीतिक अभीष्ट पूरा गर्न पार्टीका स्वार्थका कारिन्दा बन्न पुगेका छन् । विश्वविद्यालय जस्तो नितान्त स्वतन्त्र, सभ्य र उच्च प्राज्ञिक संस्थामा विभिन्न भ्रातृ संगठनको नाममा राजनीतिक दलको खोल ओढेर गरिने तोडफोड, आगजनी, गुन्डागर्दी जस्ता अराजक क्रियाकलापले शैक्षिक वातावरण दुषित पारेको त छ नै, विश्वविद्यालयको गरिमालाई नै गिराएको छ ।

आइतबार त्रिवि अन्तर्गत देशभर रहेका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन भयो । निर्वाचन ६० वटा आङ्गिक क्याम्पससँगै एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा हुने भनिए पनि कयौँ क्याम्पसमा भने मतदान स्थगित हुन पुग्यो । निर्वाचनभन्दा अघि नै कयौं क्याम्पसहरुमा तालाबन्दी र तोडफोडसमेत भए । जसको असर मतदान प्रक्रियामा समेत पर्‍यो । कतिपय ठाउँमा झडपसमेत भएका घटनाहरुले विद्यार्थीहरुको स्ववियु निर्वाचनप्रतिको धारणालाई समेत उदाङ्गो बनाइदिएको छ । अधिकांस क्याम्पसमा दल निकट विद्यार्थी संगठनले यो र त्यो बहानामा स्वार्थकेन्द्रित गैरशैक्षिक माग गर्दै तालाबन्दी र तोडफोड गरे । यस्ता अराजक गतिविधिले स्ववियुको निरन्तरताले विश्वविद्यालय अध्ययन–अनुसन्धान हबभन्दा पनि राजनीतिक अराजकता, गुन्डागर्दीको नर्सरी बनिरहेको सन्देश प्रवाह गरेको छ । देशको शैक्षिक तथा राजनीतिक दुवै क्षेत्रको लागि प्रत्युत्पादक हुने यस्ता गतिविधिले स्ववियुको औचित्यमाथि नै धावा बोलेको छ । १४ वर्ष पछि भएको निर्वाचन राजनीतिक प्रभावका कारण धेरै स्थानमा रोकिए । कतै अन्योलमै परे । केही स्थानमा निर्विरोध सकिए र केही स्थानमा चुनाव भयो । तर, जहाँ जे भएपनि त्यहाँ राजनीतिक दलको भातृसंस्थाको प्रत्यक्ष सहभागिता बिना कुनै काम भएको छैन । यस्तो हुनु दुखद् हो । स्ववियु निर्वाचन हुनु निकै सकारात्मक छ । तर त्यसको नाममा राजनीतिक हस्तक्षेप हुनु चाही राम्रो होइन । सम्पूर्ण विद्यार्थीहरुको हकहित संरक्षणका लागि विद्यार्थी स्वयम आफैले मदानबाट स्वतस्फूर्त रुपमा चुन्न पाउनु पथ्यो तर राजनीतिक हस्तक्षेपका कारण धेरै विद्यार्थीले त्यो मौका पाउन सकेनन् । यसले स्ववियुको यथार्थलाई आत्मसाथ गर्न नसकेको सन्देश प्रवाह गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update