Shittalpati
कहिले बन्लाः तानसेनमा बस बिसौनी

तानसेनमा जनघनत्व बढेसँगै आधुनिक बस बिसौनी अर्थात् बसपार्कको अवधारणा विगत एक दशकदेखि आएको भएतापनि त्यो निर्माणको प्रक्रिया आफैमा अत्यान्तै ढिला हुँदै गएको छ । के तानसेन ऐतिहासिक पाल्पा दरवार र कैलाशनगरको साँस्कृतिक डवली निर्माण हुँदैमा आफैमा गुलजार बन्छ त ? त्यो अवश्य पनि होइन । यहाँ बस बिसौनी अनि नगरभित्रका सडकहरुको स्तरउन्नति नहुँदासम्म शिक्षा, स्वास्थ्य र पर्यटनको परिकल्पना पनि गर्न सकिदैन । हालका मेयर सन्तोषलाल श्रेष्ठले आफ्नो घोषणापत्रमा तानसेनमा आधुनिक बसपार्कको निर्माणमा जोड दिने जस्ता प्रतिवद्धताहरु पुरा गर्ने काम कहिले हुन्छ भनेर तानसेनवासीले हेरिरहेका छन् । स्थानीय जनतालाई दिएको आश्वासन पुरा गर्ने तर्फ ध्यान नदिएका कारण तानसेन नगर सरकारबाट जनताले गरेको आशा निराशामै परिणत हुन्छ कि भन्ने चिन्ता र चासो अहिले बाहिरिएको छ ।

तानसेनलाई पर्यटकिय स्थलका रुपमा विकास र त्यसको प्रर्वद्धन गर्ने कार्यलाई नगर सरकारले निर्वाह गर्नुपर्ने आफ्ना सबै दायित्वहरु समयमै पुरा नभए सम्म जनताले गरेको विश्वास र सुन्दर र पर्यटकिय नगरको परिकल्पना सार्थक हुँदैन । त्यसकारण पनि नगर सरकारले सबै भन्दा महत्वपूर्णकार्य तानसेनमा अत्याधुनिक बस बिसौनी निर्माण कार्य थाल्नु जरुरी छ । अशोककुमार शाही नगरप्रमुख भएको कार्यकालमा बस बिसौनीका लागि जग्गा व्यवस्थापन भएको छ । यो सकारले त्यो स्थानमा निर्माणको कार्यलाई तिव्रता दिदैं नगरलाई आवश्यक पर्ने थप पूर्वाधारका योजनाहरुमा तिव्रताका साथ लाग्नुपर्ने देखिन्छ । अन्यथा समस्याहरु ज्यूँका त्यूँमै सिमित हुने प्रायः निश्चित छ । निर्माणका लागि ठेक्का गर्नु र निर्माण गर्नु मात्रैले पनि समस्यालाई सम्वोधन गर्दैनन् । जस्तै कैलाशनगरको डवली निर्माण भयो तर त्यसको सञ्चालन र व्यवस्थापनमा कसैले पनि चासो दिएका छैनन् । त्यसकारण निर्माणकार्यलाई तिव्रता दिदैं निर्माण भएका संरचनाहरुको दीगो व्यवस्थापनमा जोड दिनु आजको आवश्यकता र जनताको माग पनि हो ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update