Shittalpati
योग र योग दिवस

मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ । योगविना यो जीवन अधुरो छ । मानिस मात्र यस्तो प्राणी हो जसले योगको महत्व जान्दा–जान्दै पनि योग गरेको हुँदैन । योग त्यो प्रक्रिया हो जसद्वारा हाम्रो शरीर, मन र आत्मालाई सकारात्मक तरिकाले एकसाथ समावेश गर्दछ, अध्यात्मको प्राप्तिका लागि एक दोस्रोसँग जोड्दछ । परापूर्वकालमा योगलाई अदृश्य शक्तिसँग जोडिने माध्यमका रूपमा लिइन्थ्यो । तर, समयक्रमसँगै योगको महत्व पनि परिवर्तन हुँदै आएको छ । केही वर्षयता नेपालमा पनि योगको महत्व बढ्दै गएको छ । गाउँ–गाउँमा समेत योग शिविर सञ्चालन हुने गरेका छन् । बौद्धिक जमातले समेत योगलाई आत्मसात् गर्न थालेको पाइन्छ । योगको विकास र विस्तारसँगै नेपालमा पनि योग दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्र संघले जून २१ लाई विश्व योग दिवसको रुपमा घोषणा गरेको थियो । सोही अनुरुप विश्व लगायत नेपालमा पनि आज यो दिवस मनाउन लागिएको छ । योग दिवस अवश्य पनि आजको जनमानसले योगको आवश्यकता बुझेको आधुनिक अभिव्यक्ति हो ।

योग दिवस वर्तमानको आवाज हो, आजको समयको सन्देश हो । नेपालमा यो चार दशकदेखि नै जगमगाइरहेको थियो, मगमगाइरहेको थियो, जसलाई हामीले आफ्नोपनको माया सुकेको प्रहरमा देख्न सकेनौँ, चिन्न सकेनौँ । यो अनेक आयामले महत्वपूर्ण छ । योग अभ्यासबाट सकारात्मक सोंचको विकास र अनावश्यक विचारबाट मुक्ति मिल्द छ । योगबाट उर्जा प्राप्त हुनुका साथै मानसिक शान्ति, चिन्तामुक्त, कार्यक्षमतामा वृद्धि आदि सकारात्मक गुणको विकास हुन्छ । योग शारीरिक समस्याहरुको समाधान मात्र नभएर जीवनका सम्पूर्ण समस्याहरुको समाधान पनि हो । योगबाट फाइदा मात्रै छ । त्यसैले हरेक मान्छेले बाल्यकालदेखि योग अभ्यास गर्ने वातावरण बनाउनु आवश्यक छ । योगलाई वृद्ध अवस्थामा मात्र गर्ने भन्ने बुझ्नु हुँदैन । सानो बेलामै योग अनुशासन बुझेमा रिस, डाह, घमण्ड जस्ता नकारात्मक विचारहरू हटाई बालबालिकालाई शान्त, सरल, सहयोगी र धैर्य बनाउँछ । जसले गर्दा स्वस्थ समाज सिर्जना हुन सहयोग पुग्छ । यसर्थ स्वस्थ जीवन, स्वस्थ समाज निर्माण गर्न नियमित योग गरौं, स्वस्थ जीवन बाँचौं ।

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update