Shittalpati
बढ्दो इन्धन मूल्यको समाधान खोज

इन्धनको मूल्यमा भएको वृद्धिको सोझो असर हरेक वस्तुको भाउमा परेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएपछि त्यसको असार नेपालीको भान्सासम्म पुगेको छ । अचाक्ली इन्धनको मूल्यवृद्धिले उपभोक्ताको ढाड सेकेको छ । समायोजित मूल्यअनुसार अहिले प्रतिलिटर पेट्रोल १ सय ९९ रुपैयाँ, डिजेल र मट्टीतेल १ सय ९२ रुपैयाँ प्रतिलिटर भएको छ । साथै, हवाई इन्धन (आन्तरिक र बाह्य) को मूल्य पनि प्रतिलिटर १९ रुपैयाँ र प्रतिकिलोलिटर १ सय अमेरिकी डलर कायम छ । यो क्रम बढ्दो छ । पेट्रोलियम पदार्थमा यसरी अचाक्ली मूल्यवृद्धि हुनु मुख्य दुई कारण छन् । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य बढ्नु र अर्को सरकारले उठाउने चर्को कर हो । इन्धनको मूल्यवृद्धिले सिँचाइ, यातायात, उड्डयन, कपडा उद्योगजस्ता क्षेत्रमा समेत नकारात्मक असर पारेको छ । इन्धनको मूल्यवृद्धिसँगै सरसामग्रीको ढुवानी भाडामा पनि वृद्धि भएको छ । जसले गर्दा सबै व्यापार–व्यवसायको खर्च समेत बढेको छ ।

व्यापार–व्यवसायको खर्च बढ्नु भनेकै उपभोक्ताको टाउकोमा पर्नु हो । ढुवानी भाडामा वृद्धि हुनासाथ खाद्यान्न र तरकारीको भाउ बढ्छ, जसले उपभोक्तालाई थप भार थप्छ । आम नागरिक महँगीको मारमा पर्दा समेत सरकार मुकर्दशक बनेर बसेको छ । यो अत्यन्त दुखको कुरा हो । सरकार जनताको अभिभावक हो । जनता महँगीको मारमा परेको बेला राहत दिनुपर्ने बेलामा उल्टै सरकार इन्धनमा गरिएको मूल्यवृद्धि बाध्यता भएको बताउनु पक्कै पनि राम्रो होइन । यसले सरकार जनताप्रति गैरजिम्मेवार बनेकोप्रतित हुन्छ । इन्धनको मूल्यमा भएको वृद्धिको विकल्प सरकारले खोज्न आवश्यक छ । पटक–पटक भएको मूल्यवृद्धिले लागतदेखि ढुवानीसम्म मूल्यवृद्धि हुने अर्कातिर ब्याज बढ्दै जाँदा यसै पनि नेपाली उत्पादन बजारमा टिक्न गार्हो हुने स्थिती सिर्जना हुन सक्छ । तसर्थ सरकारले समयमै इन्धनमा भएको मूल्यवृद्धिको समाधान खोज्न ढिलाई गर्नु हुन्न ।

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update