Shittalpati
प्रदेश सांसद र राज्यकोषको दोहन

लोभको भाडो कहिल्यै पनि भरिदैन भन्ने प्रचलन रहेको छ । त्यसै अनुरुप लुम्बिनी प्रदेशका प्रदेश सांसदहरुले उपचारको नाममा करौडांै रुपैयाँ राज्यकोष दोहन गरेका खवरले अहिले सिंगो प्रदेश तातेको छ । यहाँ सम्म कि आफुलाई अब्वल चिकित्सक भन्ने सांसदहरु पनि यो शिर्षकबाट राज्यकोषको दोहन गर्ने कार्यमा अब्वल देखिए । प्रदेशका ४६ जना सांसद, अनि प्रदेशमन्त्री समेत रहेका सुविधा भोगी र राज्यकोष दोहन गर्ने यस्ता सांसदहरुले नैतिकताको आधारमा लिएको रकम फिर्ता गर्नुपर्ने दवाव दिने बेला आएको छ । चिनी मिलका मालिक, अब्वल चिकित्सक, व्यवसायी, सम्पन्नताको चुली चुमेका सांसदहरुले समेत यसरी राज्यकोषबाट औषधोपचारका नाममा रकम लिई रहदा पनि ‘तै चुप अनि मै चुप’को वातावरण बन्दै जानु आफैमा राजनेता प्रतिको वितृष्णा उत्पन्न हुनु नै हो ।

औषधोपचारको लागि रकम लिएको कुरा बाहिर नआउँदा ती सांसदहरुले आफुले खाईपाई आएको सुविधा पनि गरिब जनताका माझ वितरण गरेको र राज्यकोषको सेवा नलिएको कुरालाई खुलेर प्रचार गरेका थिए, तर हेर्दै र बुझ्दै जाँदा त्यस्ता सांसदहरुको देखाउँने र चपाउने दाँत फरक फरक रहेको भन्ने कुराको ज्वलन्त उदारहण स्वरुप यो घटना बाहिर आएको हो । आफु नै सम्पन्नशाली भएर पनि गरिब जनताको रगत र पसिनाबाट संकलित राज्यकोषको दोहन गर्न आफु अनुकुलताको कानुन बनाएर प्रक्रिया मिलाउँदै सुविधा लिने त्यस्ता प्रदेश सांसदहरु आसन्न निर्वाचनमा फेरी पनि जनताको घरघरमा गएर सेवा गर्ने मौका दिनुहोस् ¤ भन्ने दिन फेरि नजिकै आउँदै छन् । त्यतिबेला जनता पनि बिक्छन् कि, राज्य दोहन गर्ने त्यस्ता सांसदका उम्मेदवारहरुसंग प्रति प्रश्न गर्छन् ? त्यो भने हेर्न र बुझ्ने समय नजिकिदै छ । नेता मात्रै होइन, आममतदाता पनि विकाउ नबनुन् र राज्यकोषको दोहन गर्ने यी सांसदहरुबाट असुल उपर गरियोस् भन्ने माग हामी सबैले गर्ने बेला आएको हो । यो माग देश र जनताका लागि समयसापेक्ष हुनेछ ।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update