Shittalpati
मुटुु रोगबारे सचेतना जरुरी

प्रत्येक वर्ष २९ सेप्टेम्बरलाई संसारभर विश्व मुटु दिवसका रुपमा मनाइन्छ । यस दिवसको मुख्य सन्देश मुटुरोग सम्बन्धी चेतना फैलाई यसबाट बच्न तथा सावधानी हुन उत्प्रेरित गर्नु हो । विश्व हृदय महासंघ र विश्व स्वास्थ्य संगठनले संयुक्तरूपमा सन् १९९९ सेप्टेम्बर २९ तारिख, २९ सेप्टेम्बरकै दिनलाई विश्व मुटु दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संसारका प्रायः सबै राष्ट्रमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइन्छ । आज पनि विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैं छ । मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरदेखि बुकलेट, पम्प्लेट तथा सञ्चार माध्याबाट आमजनताको जनचेतना अभिवृद्धि, मुटु रोग विशेषज्ञहरुको विभिन्न तहमा छलफल, गोष्ठी तथा सेमिनार सञ्चालन लगायत नयाँ रणनीति तय गर्ने कार्य पनि यसै समयमा प्राथमिकतामा पर्छन् । मुटु दिवस मनाउनुको उद्देश्य केवल शिविर, गोष्ठी वा सेमिनार गर्नु होइन, मुटुरोगबाट कोही गुज्रनु नपरोस् भन्ने हो ।

नेपालमा मात्रै होइन, विश्वमा मुटु रोगको अवस्था धेरै नै भयाबह छ । विश्वमा करिब ४० प्रतिशत मानिसको मृत्यु मुटु रोगका कारण हुन्छ । विकसित देशहरुमा यसको प्रकोप धेरै नै बढ्दै गइरहेको छ । हाल आएर नेपाल लगायतका विकासोन्मुख देशमा पनि यसको जोखिम बढेको देखिन्छ । खानपानको शैलीमा परिवर्तन, शारीरिक व्यायामको कमी, चुरोटखैनी सेवन, शरीरको मोटोपन, बढी तनाव एवं विभिन्न वातावरणीय परिर्वतनले गर्दा नेपालमा मुटुरोगको प्रकोप बढेर गएको हो । सहरियामा बढी देखिने गरेको मुटुरोग सहरीकरणसँगै गाउँमा भित्रिएको छ । स्थानीय उत्पादन घट्दै जानु र गाउँमा पनि तयारी खानेकुरा खाने प्रचलन बढ्दै गएपछि मुटुरोगको समस्या गाउँ–गाउँमा देखिन थालेको छ । मुुटुु रोग लाग्न नदिन कस्तो खाने कुरा खाने र के कस्ता विषयमा ध्यान दिने भन्ने ज्ञान नभएका कारण पनि अहिले मुटु रोगको प्रकोप बढ्दै गएको छ । सामान्य रोगबारे लक्षण थाहा नपाउनु या बेवास्ता गर्नु, अस्पताल जान वा अरुलाई भन्न संकोच मान्नु जस्ता समस्या धेरैमा छ । तर, रोग लागिसकेपछि पश्चाताप, भय, एक्लोपन आदि समस्यासँग सामना गरिरहँदा अहिले नेपालमा चुनौतीका रुपमा रहेको देखिन्छ । अस्वस्थ जीवनशैली, तनाव नै मुटुुरोग निम्त्याउने प्रमुख कारक तत्व हो । यो रोगबाट आफू र अरुलाई बचाउने कुरामा ध्यान दिनुपर्छ । यो रोगबाट बच्नका लागि शारीरिक व्यायाम, मुटुको नियमित परीक्षण, सन्तुलित खाना खाने बानी बसाल्नुपर्छ । यसर्थ मुटुु रोग हेरचाहको पहँुचका लागि नियमित स्वास्थ्य परीक्षण गरी हरेक व्यक्तिले आफ्नो स्वास्थ्यबारे सावधानी अपनाउन जरुरी देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update