Shittalpati
चाडवाडका बेला सुरक्षा सतर्कता

नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं हाम्रो घर आगनमा भित्रि सकेको छ । देश तथा विदेशबाट घर फर्किने क्रम सुरु भएको छ । यतिबेला सहरबजारमा चाडपर्वको चहलपहल पनि सुरू भइसकेको छ । मानिसहरु दसैंको किनमेलमा व्यस्त हुन थालेका छन् । यसै पनि चाडपर्वको समयमा सबै क्षेत्रमा मानिसको चाप बढ्ने गर्छ । यही भीडभाडको मौका छोपेर आपराधिक घटनाहरु पनि बढ्ने गर्दछन् । विगतमा पनि दसैं, दीपावली र छठपर्व जस्ता महानपर्वको समयमा अवाञ्छित एवं आपराधिक घटनाहरु हुने गरेको सर्ववित्तै छ । भिडभाडको मौका छोपेर लुटपाट हुने गर्दछ । लुटेराले धनमाल लुट्नेमात्र होइन, ज्यानैसमेत लिने गरेका विगतका दृष्टान्त छन् । हरेक वर्ष चाडबाडको समयमा लुटपाटका घटनाका साथै उपभोक्ता किनमेलमा ठगिने गर्दछन् । चाडबाडको मौका छोपेर कालो बजारी गर्ने व्यापारीहरु अझै सक्रिय छन् । कहि कतै अनुगमन गरिए पनि प्रभावकारी बन्न सकिरहेको छैन ।

पाल्पामा प्रहरीले चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउने उद्देश्यले चाडपर्व लक्षित विशेष सुरक्षा दिन थालेको छ । तर अहिले प्रहरीले सुरक्षा योजना सहर केन्द्रीत मात्र गरेको देखिन्छ । यो बेला गाउँ–गाउँमा समेत चोरी डकैती र लुटपाटका घटनाहरु हुने भएकाले पनि सुरक्षा योजनालाई गाउँ गाउँमा समेत पुु¥याउन आवश्यक छ । चाडपर्वमा किनमेलका लागि बजारमा सर्वसाधारणको चहलपहल बढी हुने गर्छ । यस्तो अवस्थामा बैंकबाट निस्किँदा, किनमेल गर्दा र हिँडडुल गर्दा निकै होसियारी अपनाउनुपर्ने हुन्छ । यतिबेला देशका अधिकांश स्थानमा लुटपाट, चोरी, डकैती र हिंसाका घटना घटिरहेका समाचारहरु आइरहेका छन् । प्रहरीले चाडपर्वको समयमा अनेकौं अपराधिक घटना हुनसक्ने बताउँदै सचेत रहन सर्वसाधारणलाई आग्रह समेत गरेको छ । चाडवाडको समयमा प्रहरीको प्रयासबाट मात्रै शान्ति सुरक्षा कायम हुनसक्दैन । प्रहरीसँगै समाजका जिम्मेवार व्यक्तिहरुको साथ र सहयोगले मात्र समाजमा शान्ति सुरक्षा कायम गर्न सकिन्छ । तसर्थ सबैले आ–आफ्नो ठाउँबाट सुरक्षा सतर्कता अपनाउन जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update