Shittalpati
वैदेशिक रोजगारीमा रहेकालाई खुल्यो आईपीओ

पाल्पा, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि पहिलो पटक प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरिएको छ । कालिन्चोक दर्शनले एक लाख ८ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
कम्पनीले सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगारमा रहेकालाई पहिलो पटक सेयर खुला गरेको जनाएको छ । विदेशमा रहेका नेपालीले ‘मेरो सेयर’ अनलाइन प्रणालीबाट आईपीओका लागि आवेदन दिन सक्नेछन् । उनीहरुले अनलाइन प्रणाली ‘मेरो सेयर’ खुलिसकेपछि डिम्याट खाता नम्बर भएको संस्थाको नाम छनोट गर्ने, ‘युजर’ नाम र ‘पासवर्ड’ राखेर लगिन गर्न सकिन्छ । त्यसपछि खुलेको पेजमा बायाँतिर रहेको ‘माई आश्वा’मा क्लिक गरिसकेपछि कालिन्चोक दर्शनमा अप्लाई गर्नुपर्छ, एउटा अनलाइन फारम खुल्छ । खुलेको फारममा रेमिट्यान्स खाता रहेको बैंक नाम, बैंक खाता नम्बर, सीआरएन नम्बर, भर्न चाहेको सेयर संख्या लगायत विवरण भरी ‘सबमिट’ गरेपछि आफ्नो ४ अंकको गोप्य नम्बर राखेर कन्फर्म गर्नुपर्छ । नेपालीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले न्यूनतम १० र अधिकतम १० हजार ८ सय कित्तासम्मका लागि उनीहरुले आवेदन दिन सक्ने छन् । मंसिर ८ गतेदेखि २८ गतेसम्म आवेदन दिन पाउने म्याद तोकिएको छ । वैदेशिक रोजगारमा गएकाले रेमिट्यान्स बचत खातामार्फत मात्र आईपीओको रकम भुक्तानी गर्नुपर्नेछ ।
त्यस्तै रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिले आफू कार्यरत रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने व्यवस्था छ । स्वदेशमा रेमिट्यान्स भित्र्याउनका लागि प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले वैदेशिक रोजगारमा रहेकालाई आईपीओको कोटा छुट्याउने व्यवस्था गरेको हो । सर्वसाधारणका लागि छुट्याइएको आईपीओबाट १० प्रतिशत वैदेशिक रोजगारीमा रहेकालाई आरक्षण गरिन थालेको हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update