Shittalpati
छहराको भुवनपोखरीमा आयुर्वेदिक क्लिनिक सञ्चालन

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको रैनादेवीछहरा गाउँपालिकाले वडा नंं ३ भुवनपोखरीमा नागरिक आरोग्य सेवा गाउँ घर क्लिनिक सेवा सुुरु गरेको छ । नागरिक आरोग्य सेवाको गाउँपालिकाका अध्यक्ष रुकमागत भट्टराईले शुभारम्भ गरे । गाउँपालिकाले रैनादेवी छहराका जनतालाई सबै किसिमको सेवा सुविधा, स्वास्थ्य उपचार जनताको घरदैलोमा पुर्‍याउने अभियानाका साथ गाउँ–घरमा आयुर्वेदिक उपचार सेवा शुरु गरेको पालिकाका अध्यक्ष भट्टराईले बताए । पालिकाले स्वास्थ्य सेवा पहिलो प्राथमिकतामा राखेर प्रत्येक वडा वडामा बर्थिङ सेन्टर, ल्याव सेवा र आयुर्वेदीक उपचार पद्धतिका लागि नागरिक आरोग्य सेवा सञ्चालन गरिदै जाने पालिका अध्यक्ष भट्टराईले बताए ।

अहिले रैनादेवी छहरा गाउँपालिकामा उपचार पद्धतीसँगै जनताको घरदैलोमा सेवा पुर्‍याउन, टोल–टोलमा उपभोक्ता तालिम स्वास्थ्य शिविरदेखी योजना सम्झौताका कामहरु गर्दै आएको पालिका अध्यक्ष भट्टराईले बताए । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले गाउँपरिषदबाट पारित भएका निित तथा कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताए ।सबै वडामा सहज रुपमा स्वास्थ्य सेवा प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत सारुले बताए ।

भुवनपोखरीका जनतालाई केन्द्रीत गरेर प्रत्येक महिनाको ७ र २२ गते आयुर्वेदीक शिविर सञ्चालन गरी निःशुल्क रुपमा चेकजाँच गरी औषधी प्रदान गरिने छहरा आयुर्वेद औषधालयका प्रमुख पंकज रायमाझीले बताए । भुवनपोखरी स्वास्थ्य चौकीमा नयाँ निर्वाचित जनप्रनिधि आएपछि बर्थिङ सेन्टर र ल्याव सेवा यस अघि नै सचालनमा आएको गाउँपालिकाका सूचना अधिकारी नारायण मल्लले बताए । नागरिक आरोग्य सेवा संञ्चालन कार्यक्रम वडा नंं ३ वडा अध्यक्ष प्रदिप पौडेलको अध्यक्षता, वडा सदस्य धनबहादुर रायमाझीको स्वागत र कार्यालय सहायक गिरिराज पौडेलको सञ्चालनमा भएको थियो ।

 

 

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update