Shittalpati
देश संकटमा पर्दा काँग्रेस : नेता भण्डारी

गुल्मी, नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य डा.चन्द्र भण्डारीले देश संकटमा पर्दा जहिले पनि काँग्रेस पार्टीको आवश्यकता पर्ने बताएका छन् । नेपाल महिला संघ प्रदेशसभा गुल्मी क्षेत्र नं.–१ (ख) को आयोजनामा लैङ्गिक विभेद, महिला सशक्तिकरण र नेतृत्व विकास सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै नेता भण्डारीले जुनसुकै समयमा पनि देश अप्ठ्यारो परेको बेलामा देशमा काँग्रेस पार्टीको नै आवश्यकता रहेको बताएका हुन् ।

‘देशमा हरेक किसिमका समस्या आईपर्दा समस्या समाधानमा काँग्रेस पार्टीको आवश्यकता रहेको देखिन्छ’ उनले भने । ‘२०७४ सालको निर्वाचनमा देशैभरबाट कम्युनिष्ट पार्टीले बहुमत प्राप्त गरे तर आन्तरिक कलहका कारण पुरा कार्यकाल देशमा सरकार सञ्चालन गर्न सकेनन् । उनीहरुले हाम्रो पार्टीका सभापति शेर बहादुर देउवालाई गुहार मागे ।’ देशमा स्थिरता कायम गर्न र संविधानको रक्षा गर्न पार्टी सभापति देउवाको नेतृत्वमा सरकार बनेको उनले बताए । ‘पहिलो संविधानसभा असफल भएको र दोस्रो संविधानसभाको चुनावपछि सुशील कोइरलाको नेतृत्वमा संविधान निर्माण गरिएको हो ।’ उनले भने, ‘महिलाको हक अधिकार तथा सशक्तीकरण एवं नेतृत्व विकास गर्न संविधानमा समावेशीता ल्याइएको छ ।’ पछाडी परेको समुदाय सहित महिला र दलितलाई अगाडि बढाउन संविधानले ठूलो योग्दान पु¥याएको नेता भण्डारीले बताए । त्यस्तै, महिलाको योग्दान अर्थपूर्ण रहने हुनाले महिलालाई जिम्मेवारी दिनुपर्ने उनको भनाई रहेको छ । कार्यक्रममा नेपाली काँग्रेस गुल्मी सभापति खिलध्वज पन्थी, जिल्ला समन्वय समिति गुल्मीका समन्वय प्रमुख द्रोण खत्री, नेका गुल्मीका उपसभापति अनन्तराम पौडेल लगायतले जबसम्म महिलाहरूको नेतृत्व विकास हुँदैन, तबसम्म देश विकास हुन नसक्ने बताए ।

कार्यक्रममा प्रशिक्षक सुमित्रा मगराती, नेपाली काँग्रेसका जिल्ला सचिव जगदीश भट्टराई, क्षेत्र १, का सभापति पारिश्वर ढकाल, महासमिति सदस्य धना भण्डारी, महासमिति सदस्य धर्नेन्द्र कार्की, जिल्ला सदस्य धातानन्द भण्डारी, झविन्द्र विक, प्रदेश सभापति(क) सन्तोष गौतम, (ख) हरि अर्याल, महिला नेतृ राधिका न्यौपाने लगायतका नेताहरूले महिला अधिकार र नेतृत्वका विषयमा आफ्ना धारणा राखेका थिए । महिला संघ, प्रदेश (ख) की सभापति उर्मिला आचार्य नेपालीको सभापतित्वमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update