Shittalpati
तानसेनमा निकालियो भीमसेनको रथ यात्रा, रौनक भने हराउँदै

हाम्रा संवाददाता
पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा बिहीबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ यात्रा निकालिएको छ । नेवार समुदायले हरेक वर्ष माघ शुक्ल भीमा द्वादशीका दिन भीमसेनको रथ यात्रा निकाल्ने गर्दछन् । तानसेनको शित्तलपाटीस्थित भीमसेन मन्दिर परिसरबाट निकालिएको रथ यात्राले तानसेन नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । सो क्रममा भीमसेनको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो ।

नेवार समुदायका मानिससहित अन्य समुदायका व्यक्तिहरुको समेत सहभागिता रहेको रथयात्रामा भजन मण्डलीले दाफा भजन गाएर नगर परिक्रमा गरेका थिए । नेवार समुदायले भीमसेनलाई कुल देउताका रुपमा पूजा गर्दै आएका छन् । रथयात्रा गर्दा धेरैजसो नेवार समुदायहरुले आ–आफ्नो घर–घरबाट भगवानलाई पूजा दिएका थिए । शित्तलपाटीमा रहेको भीमसेन मन्दिर विसं १८६४ मा स्थापना भएको थियो । माघ शुक्ल भीमा एकादशीको दिन तानसेनमा खासै केही गरिदैन । यस दिन राती शित्तलपाटी मन्दिर अगाडि धुनि जगाइन्छ, भजन गाइन्छ तथा उपस्थित भक्तजनहरुलाई प्रसादको रुपमा समयबजी बाँड्ने प्रचलन रहेको छ । माघ शुक्ल द्वादशीको दिन भने भीमा द्वादशी भनेर शित्तलपाटीको भीमसेनको रथयात्रा निकाल्ने परम्परा रहेको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीले बताए । नेवार समुदायले शुभ साइतमा हातमा मुगदल लिएको भगवानको पित्तलको सानो प्रतिमूर्तिलाई तीनतिर खुल्ला पितलले मोडिएको छाना भएको रथमा राखी नगर परिक्रममा गराएका थिए ।

शित्तलपाटी भीमसेन मन्दिर तीन तलाको रहेको छ । पहिला माथिल्लो छाना पितलको भएता पनि अर्को छाना झिगटीको थियो तर पछि भक्तजनहरुको श्रद्धा र स्थानीय सरकारको पहलमा तल्लो तलामा पनि पित्तलको छाना राखिएको छ । यहाँ प्रत्येक वर्ष रथयात्रा सञ्चालन गर्न तानसेन नगरपालिका, तानसेन गुठी काठमाडौंले आर्थिक सहयोग गर्दै आएको छ । नपुग सबै टोलहरुबाट र व्यक्तिगत रुपमा संकलन गर्दै आएको भीमसेन मन्दिर संरक्षण उपभोक्ता समितिका अध्यक्ष मनोहरलाल श्रेष्ठले बताए । यस वर्ष मन्दिरको रंगरोगनको लागि देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानले पनि आर्थिक सहयोग गरेको थियो । भीमसेन टोलमा पनि भीमसेन मन्दिर रहेको छ । टक्सार गणेश जात्राको भोलिपल्ट भीमसेन टोलबाट भिमसेन जात्रा निकालिन्छ । भीमसेन भनेका महाभारतका बलवान शक्तिशाली भिम हुन् । तानसेन बजार भित्र मात्रै छ बटा भीमसेन मन्दिरहरु रहेका छन् । भीमसेन नेवारहरुका कूल देवता हुन् ।

इतिहास बोकेका यहाँका यि संस्कृतिहरुको रौनक भने विस्तारै हराउँदै गएको छ । आधुनिकताका कारण पाल्पामा मनाइने जात्रा, चाडपर्वको रौनक घटेको हो । जात्रा खर्चिलो भएकाले पनि आर्थिक अभावका कारण पछिल्ला वर्षहरुमा गाई जात्रा, रोपाइँ जात्रा निकाल्ने प्रचलन कम हुँदै गएको छ । जिल्लाको गहनाका रुपमा रहेका यि संस्कृतिहरुको संरक्षणमा कसैको ध्यान जान सकेको छैन । स्थानीय कलासंस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएपनि यसतर्फ खासै चासो दिएको देखिदैन । जात्राहरु धार्मिक, साँस्कृतिक र मनोरञ्जनसँग जोडिएकाले पनि संस्कृति जोगाई राख्न नयाँ पुस्तालाई यसतर्फ आर्कषित गर्न सकिएको छैन । जसले गर्दा पनि यहाँका जात्रा, पर्वहरु विस्तारै लोप हुन लागेका छन् ।

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update