Shittalpati
पाल्पा विकास केन्द्रको अध्यक्षमा पुनः पोखरेल

पाल्पा, मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा क्रियाशिल रहेको पाल्पा विकास केन्द्रको अध्यक्षमा पत्रकार कृष्ण पोखरेल पुनः निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रको शनिबार तानसेनमा भएको १२ औं साधारण सभा तथा चौथौं अधिवेशनले पोखरेललाई अध्यक्षमा चयन गरेको हो । कूशल र इमान्दारपूर्वक केन्द्रको नेतृत्व सम्हालेका पोखरेललाई पुनःअध्यक्षको जिम्मेवारी दिइएको केन्द्रले जनाएको छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल उनी नवजनचेतना राष्ट्रिय दैनिकका पाल्पा संवाददाता समेत हुन् । जिल्लाको पत्रकारिता क्षेत्रमा राम्रै छवि बनाएका पोखरेल विभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय रहेका छन् । अध्यक्षको पुनः जिम्मेवारी पाएसँगै पोखरेलले आगामी दिनमा संस्थालाई थप सशक्त बनाउँदै लुम्बिनी प्रदेशमा मिडियाको विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी लाग्ने प्रतविद्धता व्यक्त गरेका छन् । केन्द्रको अधिवेशनले उपाध्यक्षमा कृष्ण गहतराज, सचिवमा विनोद नेपाल, सह–सचिवमा विनोद भारती, कोषाध्यक्षमा बसन्ती ढकाललाई चयन गरेको छ । यस्तै केन्द्रको सदस्यमा किरण कौशल, किशोर भट्टराई, विश्वराज भट्टराई र शर्मिला अधिकारी चयन भएका छन् ।
केन्द्रको सल्लाहकारमा बाबुराम कार्की, गोपाल प्रसाद बस्याल, मेघराज शर्मा, झपेन्द्र जिसीलाई चयन गरिएको छ । अधिवेशनको गैरसरकारी महासंघ पाल्पाका अध्यक्ष भेषराज तिमिल्सीनाले उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका तिमिल्सीनाले पाल्पा विकास केन्द्रले मिडियाको विकासमा खेलेको भूमिका अत्यन्त प्रशसंनिय रहेको बताए । उनले आगामी दिनमा राष्ट्रियस्तरको गैरसरकारी संस्थाको रुपमा पहिचान बनाउने गरी काम गर्न केन्द्रलाई आग्रह गरे । नेतृत्वदायी संस्था र निकायको सहयोगी भूमिकामा गैरसरकारी संस्थाहरुले काम गर्दै आएकाले स्थानीय सरकारहरुले त्यही अनुसारको समन्वय र भूमिका खेल्नुपर्नेमा अध्यक्ष तिमिल्सीनाले जोड दिए । कार्यक्रममा पाल्पा साहित्य समाजका संरक्षक तथा पाल्पा संग्रहालयका अध्यक्ष राजेन्द्र गोपाल सिंहले सार्वजनिक सरोकारका विषयहरुलाई सशक्त ढंगले उठाउन केन्द्रलाई आग्रह गरे । केन्द्रले केही ठाउँहरुका पर्यटकीय र सांस्कृतिक सम्पदाहरुको विषयमा उजागर गरे पनि स्थानीय स्तरमा रहेका र ओझेलमा परेका सांस्कृतिक सम्पदा र पर्यटकीय स्थलहरुको विषयमा खोज अनुसन्धान गर्न नसकेको संयोजक सिंहले बताए । आगामी दिनमा ओझेलमा परेका र स्थानीय स्तरमा रहेका सांस्कृतिक सम्पदाहरुको उजागरणमा ध्यान दिन केन्द्र र जिल्लाका पत्रकारहरुलाई उनले आग्रह गरे । कार्यक्रममा स्वास्थ्य, शिक्षा, साहित्य प्रतिष्ठान पाल्पाका अध्यक्ष तथा तानसेन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्कर राज रेग्मी, पशु सेवा कार्यालयका प्राविधिक युवराज ज्ञवाली, निर्वाचन मण्डलका संयोजक बाबुराम कार्की लगायतले केन्द्रको सफलताको शुभकानमा व्यक्त गरेका थिए । कार्यक्रममा केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले केन्द्रले गरेका गतिविधिका विषयमा जानकारी गराएका थिए । केन्द्रकी कोषाध्यक्ष बसन्ती ढकालले १ करोड १२ लाख २२ हजार बराबरको आय व्यय प्रस्तुत गरेकी थिइन् । कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण पोखरेलको अध्यक्षता, सचिव विनोद नेपाल र भविन्द्र गौतमको सञ्चालनमा भएको थियो ।
२०६५ सालमा स्थापना भएको केन्द्रले लुम्बिनी प्रदेशमा मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको छ । उसले स्थानीय सरकार र प्रदेश सरकारका विषयमा जानकारी गराउन नीतिपात्रो पोर्टल समेत सञ्चालनमा ल्याएको छ । यो पोर्टले विशेषगरी स्थानीय सरकार र प्रदेश सरकारका बारेमा जानकारी लिन र नीतिदेखि बजेट कार्यक्रम लगायतका विषयमा मुद्दा र स्रोतको पहिचान गरी विस्तृत रूपमा समाचार सामग्री र अन्य अध्ययन प्रतिवेदन तयार पार्न सहयोग पुयाउने छ । यसले आम जनतालाई आफ्नो समुदायमा के—कस्ता नीतिगत काम भइरहेका छन् भन्ने विषयमा पनि पोर्टलले जानकारी दिने गरेको छ ।

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १९:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update