रामचन्द्र रायमाझी
पाल्पा, नेकपा एमालेका प्रदेश सांसद डा.पुरनमान बज्राचार्य सहितका धेरै जसो लुम्बिनी प्रदेश सांसदहरुले औषधि उपचारका नाममा लिएको रकमको विषयमा अहिले व्यापक चर्चा परिचर्चा भएको छ । आर्थिक रुपमा बलिया भए पनि सामन्य उपचारमा राज्यकोषको झण्डै आधा करोड रकम खर्च भएपछि अहिले चर्चाले व्यापकता पाएको हो । प्रदेश सांसद ब्रजाचार्य सपन्नशाली र स्वयं चिकित्सक भएपनि उपचार खर्चबापत दुई लाख २० हजार १ सय ७६ रुपैयाँ भुक्तानी लिएका छन् । प्रदेशसभा सचिवालयको तथ्यांक अनुसार उनले गत आर्थिक वर्ष २०७७/०७८ मा उक्त रकम लिएका हुन् ।
पछिल्लो तीन वर्षको अवधिमा प्रदेशसभा सचिवालय मार्फत् ४६ जना सांसदहरूले ५२ लाख ९५ हजार ८ सय ८० रुपैयाँ औषधि उपचार भन्दै भुक्तानी लिएका छन् । आर्थिक वर्ष २०७६/७७ मा २८ जना सांसदले १४ लाख ४९ हजार ५ सय ३० रुपैयाँ लिएको उपचार खर्च त्यसयताका वर्षहरूमा निरन्तर बढिरहेको छ । पाल्पाकै जनता समाजवादीकी सांसद पुर्मती ढेंगाले पनि औषधि खर्च वापत ३७ हजार ९ सय ३१ रुपैयाँ भुक्तानी लिएकी छन् । मन्त्री समेत रहेकी ढेंगाले आर्थिक वर्ष २०७६/०७७ मा १३ हजार २ सय ८५ र आर्थिक वर्ष २०७७/०७८ मा २४ हजार ६ सय ४६ रकम बुझेकी छन् ।
पाल्पाका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले भने उपचारका लागि कुनै रकम लिएका छैनन् । जबकी उनी गत दुई वर्ष अघि काठमाडौंबाट बुटवलतर्फ आउँदै गर्दा सडक दुर्घटनामा परी घाइते हुँदा समेत उनले कुनै पनि राज्यकोषको प्रयोग भने गरेनन् । प्रदेश सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडिया चिनी उद्योगका मालिक हुन् । उनले आर्थिक वर्ष २०७७/७८ मा २ लाख ४९ हजार १ सय ५७ र २०७८/७९ मा २ लाख २७ हजार ८ सय ५१ गरी दुई वर्षमा ४ लाख ७७ हजार ८ रुपैयाँ उपचार खर्च लिएका छन् । जसपाबाट पूर्वमन्त्री समेत भएकी कल्पना पाण्डेयले २ लाख ७५ हजार २ सय ७ रुपैयाँ भुक्तानी लिएकी छन् । प्रदेश मन्त्री डिल्लीबहादुर चौधरीले २ लाख ३७ हजार २ सय ७०, सांसद निर्मला क्षेत्रीले २ लाख ७३ हजार ८ सय ९७, माला गोतामेले २ लाख १४ हजार ६ सय ८७ र मोहम्मद याकुब अन्सारीले २ लाख १६ हजार ९ सय ५९ रुपैयाँ भुक्तानी लिएका छन् । डा. कृष्ण न्यौपानेले २ लाख ४८ हजार १ सय ५ र सरस्वती गौतमले २ लाख २० हजार २ सय ३१ रुपैयाँ भुक्तानी लिएका छन् । सांसद ढेंगा बाहेक माथि उल्लेख गरिएका सांसदहरुले दुई लाख भन्दा बढी उपचार खर्च वापतको रकम लिनेमा पर्दछन् ।सरकारले निःशुल्क गर्ने भनेका औषधि समेत गरिब वर्गका बिरामीले पाउन सकेका छैनन् । तर लुम्बिनी प्रदेशका यि सांसदहरूले भने हरेक वर्ष लाखौं रुपैयाँ औषधि उपचारको नाममा भुक्तानी लिँदै आएका छन् । औषधि बापतको खर्च लिन पाइने भएपछि सांसदहरुले उक्त रकमको लोभ गरेका हुन् ।