Shittalpati
आचारसंहिता पालना र कार्यान्वयनमा सहयोग गरौं : प्रजिअ पन्त

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले आचारसंहिता पालना र कार्यान्वयनमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । बिहीबार पाल्पा विकास केन्द्रले तानसेनमा आयेजना गरेको स्वतन्त्र, निष्पक्ष र भयरहित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा संघ संस्थाहरुका प्रतिनिधिका लागि राजनीतिक समावेशिता सुशासन, प्रजातन्त्र र संघीयता सबन्धी कार्यदक्षता अभिवृद्धि कार्यशालामा निर्वाचन आचारसंहिताका विषयमा जानकारी गराउँदै पन्तले यस्तो बताएका हुन् । उनले निर्वाचनलाई मर्यादित, भयरहित, स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्न सबै पक्षले सहयोग गर्न आग्रह गरे ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा राजनीतिक दल, सरकारका मन्त्री, सरकारी कर्मचारी, पत्रकारदेखि सर्वसाधारण सबैका लागि लागु भएकाले सबैले आ–आफ्नो ठाउँबाट पालना र कार्यान्वयन गर्नुपर्नेमा प्रजिअ पन्तले जोड दिए । उनले भने ‘सबै क्षेत्र र वर्गबाट आचारसंहिताको पालना भए मात्र निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन सकिन्छ ।’ पछिल्लो समय नागरिक समाज र कर्मचारी कुनै पनि राजनीतिक दल र विचारबाट अलग नभएको भन्दै प्रजिअ पन्तले त्यस्ता केही व्यक्तिहरुबाट निर्वाचनका बेला अफवाह फैलिन सक्ने भएकाले त्यसतर्फ सचेत हुन नागरिक समाज र कर्मचारीहरुलाई आग्रह गरे । उनले भने ‘अफवाहरुका कारण मर्यादित, भयरहित, स्वच्छ, निष्पक्ष निर्वाचन हुन सक्दैन, त्यस्ता दिग्भ्रमित गर्ने खालका गतिविधि रोक्न सबैले सहयोग गरौं ।’ आचारसंहिताको पालना गर्न र कोही कतैबाट उल्लंघन भएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन पनि प्रजिअ पन्तले सबैलाई आग्रह गरे । निर्वाचन आचारसंहिता उल्लंघन गर्ने छुट कसैलाई पनि नभएको उनले स्पष्ट पारे । आचारसंहिताको उल्लंघन एवं निर्वाचनविरुद्धका गतिविधी गर्नेलाई नियमअनुसार कारवाही हुने उनको भनाइ छ । आचारसंहितको उल्लंघनले सुरक्षा चुनौती थपिने र निर्वाचनलाई असर गर्नसक्नेतर्फ सबैको ध्यान जानुपर्ने प्रजिअ पन्तले बताए । ‘आचारसंहितको विषय नबुझेमा राम्ररी बुझाउन तयार छौँ । तर यस विरुद्धका गतिविधि गर्ने छुट कसैलाई छैन,’ उनले भने, ‘आचारसंहिता विपरीत गएर कारवाही गर्नुपर्ने अवस्था नआओस् । कोही पनि कारवाहीमा नपरौँ ।’ प्रजिअ पन्तले पाल्पा आफैमा बौद्धिक संर्कल भएको जिल्लाको रुपमा पहिचान बनाएकाले पनि यस्ता गतिविधिहरु नहुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला अदालत पाल्पाका श्रेष्तदार तथा सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद बस्यालले निर्वाचनलाई स्वच्छ, धाँधलीरहित र विश्वसनीय बनाउन सबैले सौहार्दपूर्ण वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले निर्वाचन सफल बनाउन आयोगले जारी गरेका ऐन, नियम, निर्देशिका, मापदण्ड, आचारसंहिता तथा निर्देशनहरुको पूर्णरुपमा पालना तथा कार्यान्वयनमा सबै प्रतिवद्ध हुनुपर्नेमा जोड दिए । केन्द्रका अध्यक्ष कृष्ण पोखरेलले निर्वाचनलाई कसरी मर्यादित र भयरहित बनाउन सकिन्छ भनेर जिल्लाका विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल र अन्तक्र्रिया गरिदै आएको बताए । पाल्पा विकास केन्द्रले स्थानीय र प्रदेश सरकारलाई सशक्त बनाउनेदेखि स्वच्छ र मर्यादित निर्वाचन बनाउने दिशामा पैरवी गर्दै आएको समेत उनले बताए । केन्द्रका कार्यक्रम संयोजक किरण कौशलले राजनीतिक दल, पत्रकार, नागरिक समाज लगायत जिल्लाका प्रभुत्व व्यक्तिहरुसँग छलफल, वहस र अन्तक्र्रियाले आचारसंहिता पालना र कार्यान्वयमा महत्वपूर्ण टेवा पुग्नेमा विश्वास व्यक्त गरे । उनले लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारका विषयमा जानकारी लिन र बुझ्नका लागि केन्द्रले निर्माण गरेको नीतिपात्रो बढी भन्दा बढी उपयोग गर्न समेत आग्रह गरे ।

कार्यक्रममा आचारसंहितको कानुनी आधार, उद्देश्य, लागू हुने निकाय, राजनीतिक दलदेखि सञ्चारमाध्यम सबैले पालना गर्नुपर्ने आचरण, निर्वाचन खर्च, मौन अवधि, मतदान तथा मतगणनाका बेला पालना गर्नुपर्ने आचरण, आचारसंहिता अनुगमन तथा त्यसका अन्य व्यवस्था, राजनैतिक दल, उम्मेदवार र नागरिक समाजको भूमिका, निर्वाचन सम्बन्धी कार्यक्रम, मनोनयन दाखिला, उम्मेदवारको धरौटी लगायतका विषयमा समेत जानकारी गराइएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update