Shittalpati
प्राकृतिक सुन्दरताले भरिपूर्ण धुँवाखोला होमस्टे

जगदीश भट्टराई
गुल्मी, धुँवाखोला नाम जस्तैगरी प्रत्येक दिन विहान अवेरसम्म धुँवाले ढपक्क ढाकेको देखिन्छ । हुँस्सुले खोला हुँदै गाउँ ढाक्दै गर्दा धुँवा भरिएको आभास हुन्छ, त्यसकारण गाउँको नाम नै धुँवाखोला भएको हो ।

सुदुरपूर्व गुल्मीको भुर्तङ्ग र बाग्लुङ्गको वरेङ्गको सीमा क्षेत्रमा पर्ने धुँवाखोला प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँ ७६ घर गुरुङ्ग, २० घर छन्त्याल र सात घर पुन मगरहरु बसोबास गर्दै आएका छन् । गुरुङ्ग समुदायको बाहुल्यता रहेको बस्तीमा होमस्टे पनि सञ्चालन भइरहेका छन् । यहाँका स्थानीयहरुका लागि होमस्टे आत्मनिर्भर बनेको छ ।

यहाँको गुरुङ्ग वस्तीले पर्यटकहरुलाई पारिवारक वातावरणका साथै परम्परागत संस्कृतिकको संरक्षणमा जोड दिइ, सरसफाई र पाहुनाहरुसंग गर्ने व्यवहारलाई सहज बनाउने कामलाई कालीगण्डकी गाउँपालिकाले विषेश पहल गरी सहयोग गरेको धुँवाखोला होमस्टे सञ्चालक समितिका सचिव युवा व्यवसायी ३५ वर्षिय आशिष गुरुङ्गले बताए ।

होमेस्टे पुग्ने पर्यटकहरुका लागि मनोहर दृश्यावलोकनका लागि सिद्धबावा, कालीलेंक र त्यहाँको पुराना राजाहरुको भग्नावशेष दरवारको आकार अवलोकनका लागि पनि धुँवाखोला चर्चित छ । वाग्लुङ्गको वरेङ्ग र त्यस क्षेत्रका महत्वपूर्ण ग्रामीण बजारबाट धुँवाखोलामा वास वस्न र गाउँले परिकारको स्वादका लागि आन्तरिक पर्यटकहरु आउने गर्छन् । केवल खाने र बस्ने मात्रै नभएर साँस्कृतिक कार्यक्रम, परम्परागत लोकदोहोरी पनि पर्यटकहरुका लागि आर्कषक हुने गरेको स्थानीय युवा व्यवसायी ४१ वर्षिय राजु गुरुङ्गको भनाई छ ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापा मगरले भने २०७५ सालमा स्थापना भएको कालीगण्डकी ७ को भुर्तुङ्गको धुँवाखोला होमेस्टेको सञ्चालन पछि विभिन्न समयमा तालिमका लागि गाउँपालिका र प्रदेश सरकारका तर्फबाट हालसम्म २५ लाख रुपैयाँ खर्च भइसकेको छ, पर्यटक स्वागत गेट र होमस्टेका लागि सामुदायिक भवन समेत निर्माण गरेका छौं । प्रचार–प्रसार र व्यवसायिकता प्रर्वद्धन गरी स्थानीय युवाहरुलाई उद्यमशील बनाउने काममा पालिका सदैव तयार भएको उनले प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष थापा मगरले धुँवाखोला जस्ता मनोरम सांस्कृतिक गाउँ र त्यहाँका आदिवासीहरुको भाषा, संस्कृति, परम्पराको पहिचान र त्यसको प्रर्वद्धनका साथै ग्रामीण क्षेत्रमा उद्यमशीलताको विकासको कामका लागि सहयोग गर्न पालिका तयार रहेको तर यहाँका स्थानीय वासिन्दाहरुको इच्छाशक्ति हुनुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update