Shittalpati
सडकमा बसी सुन्तला बेचेरै दुई लाख आम्दानी

रेसुङ्गा,गुल्मीकी पार्वता पाण्डेले सडक छेउमा बसी सुन्तला बेचेर दुई लाख आम्दानी गर्ने गरेकी छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गरेकी हुन् ।

मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्ड पश्चिम गुल्मीको मुख्य सडक हो । यही सडकखण्ड अन्तर्गतको राँयढुङ्गामा पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म डोकोमै सुन्तला बेचेर सोही रकम कमाएको उनको भनाइ छ । उनले विगत सात वर्षदेखि पुस र माघ महिनामा सुन्तला बेचेर प्रत्येक वर्ष दुई लाख आम्दानी गर्दै आएकी छन् । न्यूनतम प्रतिकिलो ८० देखि अधिकतम दुई सय सम्ममा पाण्डेले सुन्तला बिक्री गर्छिन् । ‘सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन’, उनले भनिन् , ‘सवारीमा आवतजावत गर्नेले रोकिएर सुन्तला किनेर जानुहुन्छ ।’ पाण्डे सुन्तला बिक्रीको लागि घरदेखि १५ मिनेट पैदल हिँडेर राँयढुामा आउँछिन् ।

बिहान ११ देखि दिउँसो ३ बजेसम्म उनले त्यही सुन्तला बिक्री गर्ने गर्छिन् । स्थानीय जातको रसिलो सुन्तला भन्दै किन्ने पनि सन्तुष्ट भएर जाने गरेको पाण्डेले बताइन् । उनले सडक छेउमा आएर सुन्तला बेच्न थालेको सात वर्ष भयो । सजिलै घरेलु उत्पादनको बजारीकरण गरेर आम्दानी गरिरहेको उनीसँग अनुभव छ । पाण्डेले सामान्य प्रकारको जीविकोपार्जनका लागि विदेशकै बाटो रोज्नु गलत भएको बताउँछिन् । उनका श्रीमान् नारायण पनि सुन्तला खेती र भैँसी फार्ममा व्यस्त छन् । उनीहरुको फार्ममा १५ वटा भैँसी छन् । जसबाट दैनिक ३५ लिटर दूध जिल्लाको सदरमुकाम तम्घास बजारमा बेच्दै आएका छन् । –रासस

प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update