Shittalpati
सरकारले तोक्यो शिक्षकको नयाँ पोशाक

पाल्पा,सरकारले विद्यालयमा कार्यरत शिक्षकको पोशाक परिवर्तन गर्ने भएको छ । सरकारले शिक्षक कर्मचारीहरुको हाल प्रचलनमा रहेको विद्यालय पोशाकलाई परिवर्तन गर्ने भएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले शुक्रबार एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रदेखि नयाँ पोशाक तोकिएको जानकारी दिएको छ । खैरो गाढा रङको पाइन्ट र कोट, हल्का नीलो रङको सर्ट, खैरो गाढा रङको ज्याकेट, कलेजी रङको स्वेटर र कालो जुत्तालाई शिक्षकको पोशाकका रुपमा तोकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । त्यस्तै साडी, ब्लाउज, कुर्ता सुरुवालको रङ भने परिवर्तन गरिएको छैन । यसअघि कालोमा सेतो धर्का भएको कोट र पाइन्ट तथा हल्का नीलो रङको सर्टलाई पोशाकका रुपमा तोकिएको थियो । शिक्षकहरुकै माग अनुसार पोशाक परिवर्तन गरिएको शाखाले जनाएको छ । यसअघि तोकिएको पोशाक अधिकांशले मन नपराई नियमित नलगाउने गरेपछि परिवर्तन गर्नुपर्ने माग राखेको नेपाल शिक्षक महासंघले जनाएको छ ।
केन्द्रले नयाँ पोशाकका बारेमा देशभरिका सबै शिक्षा निकायमा परिपत्र जारी गरेको छ । पोशाक खरिदका लागि सरकारले शिक्षकलाई वार्षिक रुपमा प्रतिव्यक्ति दश हजार रुपैयाँ उपलब्ध गराउँदै आएका छ । शाखाले पोशाकको नमुना नेपाल शिक्षक महासंघबाट लिन सक्ने जनाएको छ ।

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update