Shittalpati

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका ४ खानीछापका पाँच विद्यालय बालमैत्री घोषणा भएका छन् । गाउँपालिकाले आईतबार एक कार्यक्रमका बीच पाँच वटा विद्यालयहरुलाई बालमैत्री घोषणा गरेको हो ।

बालमैत्री विद्यालयका निश्चित मापदण्ड पूरा गरेका खानीछापका हिमालय आधारभूत, राम मावि, राम्दी प्रावि, गंगादेवी प्रावि र हिमालय प्राविलाई बालमैत्री विद्यालयका रुपमा घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । घोषणा कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष तथा बालमैत्री स्थानीय शासन समितिका संयोजक कृष्णप्रसाद बस्यालले बालमैत्री स्थानीय शासन समन्वय समिति, गाउँपालिकाका पदाधिकारी सहितको टोलीले निरीक्षण तथा अनुगमन पश्चात बालमैत्री विद्यालय घोषणा सफल भएको बताए । गाउँपालिकालाई बालबालिका मैत्री बनाउन विभिन्न क्रियाकलापमा बालबालिकाको सहभागिता सुनिश्चित गर्न र उनीहरुको हक अधिकार प्रदान गरी नमूना गाउँपालिका बनाउन बालमैत्री विद्यालय अभियान चलाइएको उनले बताए । अधयक्ष बस्यालले भने ‘घोषणा गर्नु मात्रै ठूलो कुरा नभएकाले कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्दछ ।’ कार्यक्रममा गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारीले बालबालिकाहरुको शिक्षासँगसँगै संस्कार र सहभागिता गराउन सके मात्र घोषणाले सार्थकता पाउने बताए ।

शिक्षा शाखा प्रमुख गुणराम खनालले गाउँपालिकाले पौष महिना भित्र बालमैत्री विद्यालय घोषणा गरिसक्ने र चैत्र मसान्तभित्र बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य राखेको बताए । बालमैत्री विद्यालय घोषणाका लागि ३९ वटा सूचकमा ८० अंक प्राप्त गर्नुपर्ने स्थानीय बालमैत्री शासनका फोकलपर्सन मनोज आचार्यले जानकारी दिए । कार्यक्रममा हिमालय आधारभूत विद्यालयका प्रअ सूर्यप्रसाद अर्याल, राम माविका प्रअ डोलराज बस्याल, गंगादेवी प्राविका प्रअ निलकण्ठ न्यौपाने, बाल सञ्जालका वडा संयोजक खुमबहादुर दर्लामी, बालमैत्री स्थानीय शासनका वडा संरक्षक समितिका संयोजक पोषकान्त तिमिल्सीना, राम्दी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खडानन्द भुषाल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।वडा अध्यक्ष हुतमान सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो । गाउँपालिकाले वडा ४ सँगै ७ वटा वडाहरुमा २८ वटा विद्यालयहरु बालमैत्री घोषणा गरेको छ । गाउँपालिका भित्र ३७ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुमा ३ हजार ६ सय ५० जना विद्यार्थी रहेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  २३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update